काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको प्रधानमन्त्री हुने सम्भावना सकिन लागेको टिप्पणी गरेका छन् । एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले शनिबार (आज) पार्टीको केन्द्रीय कार्यालय च्यासलमा गरेको कार्यक्रममा उनले प्रचण्डले ढिला गरेको बताएका हुन् ।
‘पुष्पकमल दाहालजी प्रधनमन्त्रीको इच्छा गरिरहनुभएको छ, मलाइ लाग्छ उहाँले निर्णय गर्न ढिला गर्नुभयो’ उनले भने । ओलीले संस्कृतको एउटा नीति श्लोक सुनाउँदै जुनसुकै काम पनि बेलामा नगरेमा त्यसको फल खान नपाउने बताए ।
उनले भने, ‘‘लिनुपर्ने कुरा, दिनुपर्ने कुरा, गर्नुपर्ने काम जेजस्ता छन्, ती समयमै गर्नुपर्दछ । भएन भने, होइन भने, समयमा कुनै काम गरिदैन भने समयले नै त्यसको उपलब्धिलाई समाप्त पारिदिन्छ । समयले नै त्यसको फल खाइदिन्छ । यदि तपाईंले आँप पाकेकै बेला टिप्नुभएन भने खान पनि पाउनुहुन्न, बेच्न पनि पाउनुहुन्न । किनभने त्यो आफैं झरेर जान्छ । त्यसको रस, त्यसको फल, त्यसको प्रतिफल, त्यसको फाइदा समयले खाइदिन्छ । त्यस्तै हो, अब उहाँको सम्भावना सामान्यतः समाप्त भएजस्तो देखिन्छ । किनभने उहाँले समयमा कदम चाल्नुभएन ।’
सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पौष १० गते बेलुका ५ बजेसम्मको समय दिएकी छन् । सत्तारुढ गठबन्धनबाट प्रधानमन्त्री को हुने भन्नेमा सहमति जुटेको छैन ।
माओवादी अध्यक्ष प्रचण्ड पहिलो पालोमा प्रधानमन्त्री हुन चाहन्छन् । त्यसका लागि उनले सत्ता गठबन्धनभित्रको कांग्रेससँगै बाहिरको नेकपा एमालेसँग पनि संवाद गरिरहेका छन् ।