काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय दलको उपनेता चयनका लागि समय पछि सारेका छन् । उपनेता चयनका लागि गृहकार्य आवश्यक रहेको भन्दै तत्काललाई उपनेताको जिम्मेवारी तोक्न अस्वीकार गरेका हुन् ।
बिहीबार (आज) पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा माओवादीका अध्यक्ष प्रचण्डले उपनेता चयन पछि धकेल्ने निर्णय लिएका हुन् । सञ्चारमाध्यममा उपनेतामा उपमहाचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले दाबी गरेको समाचार सार्वजनिक भएको थियो ।
त्यस समाचारका आधारमा पदाधिकारी बैठकमा पुन र शर्माले ठट्टा गरेका थिए । पदाधिकारी बैठकमा पुन र शर्मा एउटै लहरमा थिए । उपमहासचिव मातृका यादवका अनुसार पुनले शर्मातर्फ हेर्दैं मिडियामा आएको समाचारबारे प्रसंग उप्काए ।
सञ्चारमाध्यममा हामीले संसदीय दलको उपनेतामा दाबी गरेको खबर आएका छन् । के हाम्रो त्यसमा दाबी हो र ? शर्मातर्फ हेरेर वर्षमानले हाँस्दै बैठकमा प्रसंग उप्काएका थिए ।
त्यसपछि शर्माले ’हामीबीच त्यस्तो विवाद केही पनि छैन। तर पनि विवादमा ल्याउने प्रयास भइरेहका छन्। यसरी समाचारहरू आए अध्यक्षले नै उपनेताको प्रस्ताव ल्याउनुस् त। कसलाई उपनेता बनाउने त ?’ भनेका थिए।
त्यसपछि अध्यक्ष प्रचण्डले उपनेता चयनका लागि अझै गृहकार्य गर्ने र सरकार गठनको काम टुंग्याएपछि छलफल गर्ने प्रस्ताव गरे ।
संसदमा समन्वयका लागि तत्काल प्रमुख सचेतकको आवश्यकता हुन्छ। प्रमुख सचेतक चयन गरिहाल्यौं । तपाईंहरूले मलाई सर्वसम्मत रूपमा दलको नेता चयन गर्नुभयो । उपनेताबारे अलि गृहकार्य गरौं सरकार गठनको काम सकेर छलफल गरौं, प्रचण्डको प्रस्ताव थियो ।
माओवादीले राष्ट्रिय सभातर्फ दलको नेताको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई दिएको छ भने प्रमुख सचेतकको जिम्मेवारी हितराज पाण्डेलाई तोकेको छ।