काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले द्वन्द्वका घाउहरू मेटाउँदै देशलाई स्थायी शान्तिमा लैजान कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प नरहेको जिकिर गरेका छन् ।
मङ्गलवार )आज) दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवाको समर्थनमा पुगेका उपसभापति खड्काले यस्तो बताएका हुन् ।
उनले कांग्रेस, माओवादी, एकीकृत समाजवादी, नेकपा एमालेसहितलाई जोडेर सहमतिबाट सरकार निर्माण गर्नका लागि प्रधानमन्त्री देउवा नै अहिलेको उचित विकल्प भएको बताए।
प्रतिपक्ष एमालेलाई समेत साथमा लिएर जाने क्षमता, अनुभव प्रधानमन्त्री देउवासँग मात्रै रहेको भन्दै अहिलेको अवस्थामा नेतृत्वमा देउवाको विकल्प खोज्न नहुने उहाँको भनाइ छ ।
उपसभापति खड्काले आउँदा दिनमा पुस्तान्तरण र नेतृत्व परिवर्तन स्वतः हुँदै जाने बताउँदै संसदीय दलको नेतामा सभापति देउवालाई जिताउन पनि युवा सांसदसँग आग्रह गरे ।
उनले भने, ‘सरकार निर्माण गरेर प्रतिपक्ष एमालेलाई समेत साथमा लिएर जाने क्षमता, अनुभव भएको व्यक्ति सभापति शेरबहादुर देउवा नै हुनुहुन्छ । आउँदा दिनमा पुस्तान्तरण र नेतृत्व परिवर्तन हुनेछ । अरू नेतामा क्षमता नै छैन भन्ने होइन, जनतालाई आवश्यक नेतृत्व दिनसक्ने व्यक्ति देउवाजी नै हुनुहुन्छ । युवालाई भन्छु– संसदीय दलको नेतामा देउवाजीलाई सर्वसम्मत बनाऔँ ।’
उपसभापति खड्काले अहिलेको गठबन्धन निरन्तर अघि बढ्ने र गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दाबी गरे ।