काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बद्री बजगाईंमाथि यौन दुव्यर्वहारको आरोप लागेको छ । उनले माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीमा आवद्ध एक किशोरीलाई सामाजिक संजाल फेसबुकमार्फत अश्लिल म्यासेज पठाएको खुलेको हो ।
बजगाईंले पटक–पटक ती किशोरीलाई अश्लिल शब्द प्रयोग गरी म्यासेज पठाएको देखिएको छ ।
अखिल क्रान्तिकारीको काठमाडौं जिल्ला कमिटीमा समेत रहेकी ती किशोरीले आफूमाथि दुव्यर्वहार भएकोबारे सुरुमा संगठन र माओवादी केन्द्रको तल्ला समितिमा निवेदन दिएकी थिइन् ।
ती किशोरीको निवदेन माओवादी केन्द्रको बागमती प्रदेश समितिसम्म पुगेपछि बागमती प्रदेश समितिकै सिफारिसमा बजगाईंलाई केन्द्रीय समिति सदस्यबाट समेत निलम्बन गरिएको छ ।
माओवादी केन्द्रको ३ पुसमा बसेको पदाधिकारीको बैठकले उनलाई केन्द्रीय समितिबाट निलम्बन गर्दै छानबिनको जिम्मा केन्द्रीय अनुशासन आयोगलाई दिएको छ ।
‘बजगाईंलाई सम्पर्क गर्ने अनलाइनखबरको प्रयास भने सम्पर्क हुन सकेन । माओवादी केन्द्रीय कार्यालयले समेत आफूहरुले सम्पर्क गर्न खोज्दा समेत उनी सम्पर्कमा नआएको बतायो ।
यसैबीच बजगाईंमाथि छानबिनको जिम्मेवारी पाएको केन्द्रीय अनुशासन अयोगले काम थालेको छ । आयोगका अध्यक्ष टंक राईंले आफूले पीडित किशोरीसँग प्रारम्भिक बयान लिएको बताए ।
‘पीडितलाई भेटेर प्रारम्भिक कुराकानी गरेका छौं,’ राईंले भने, ‘१० दिनभित्र प्रतिवेदन बुझाउने गरी काममा लागेका छौं । तलसम्म गएर छानबिन गर्छौं ।’
बजगार्ईं सम्पर्कमा आए आफूहरुले पत्र काटेर बयानका लागि बोलाउने राईं बताउँछन् । सफाइका लागि समय दिँदा पनि नआए बजगाईं दोषी भएको हठर हुने उनको भनाइ छ ।
अनुशासन समितिले प्रतिवेदन बुझाएपछि उनीमाथि गरिने थप कारबाही तय हुने माओवादी केन्द्रले जनाएको छ ।
