काठमाडौं । दिपायलका किसानले निकै मिहिनेत गरेर उत्पालन गरेको अदुवाभन्दा पिँडालुले बजार पाउन थालेको छ। कमै मात्रामा उत्पादन हुने र कुनै समय कौडीको भाउमा बिक्री हुने पिँडालु यतिबेला डोटीको स्थानीय बजार खड्यौली, बर्छैन। वीपी नगर र कैलालीको धनगढी, अत्तरियालगायतका बजारमा बिक्री भइरहेको छ ।
बडीकेदार गाउँपालिका, जोरायल गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकामा धेरै मात्रामा अदुवा उत्पादन भए पनि पछिलो समय मूल्य नपाएपछि किसान पिँडालु खेती गर्न थालेका छन् । डोटीको बडीकेदार गाउँपालिकाका किसान सधैँभरी व्यवसायरुपमा गर्दै आएको अदुवा खेती छोडेर पिँडालु खेती गर्दै आएका छन् ।
पहिले त अदुवाको मूल्य धेरै थियो तर पछिल्लो दुई वर्षयता बजारमा अदुवाको मूल्य पाउन छाडेपछि पिँडालु खेती गरिरहेको बडीकेदार गाउँपालिका–२ का नरबहादुर शाहीले बताए। थोरैबाट सुरु गरेको पिँडालु खेतीबाट वार्षिकरुपमा रु ३० देखि ४० हजारसम्म आम्दानी हुने गरेको पनि बताए। आफुले पिँडालु खेती गरेपछि यस क्षेत्रका दर्जनभन्दा बढीले किसानले पिँडालु खेती गरिरहेका शाहीले बताए।
कुनै समय प्रतिकेजीको रु ९० मा बेचिने अदुवा यतिबेला प्रतिकेजी रु २० का दारले बिक्री गर्न बाध्य भएपछि पिँडालु खेती गरेको बडीकेदार गाउँपालिका–५ का तेज कोटकेनीले बताए ।
घरघरमा सिंहदरबार अए पनि किसानलाई कसैले नहेरेको पनि उनले बताए। दुई रोपनीबाट सुरु गरेको पिँडालु खेतीबाट राम्रौ आम्दानी भएको बडीकेदार–४ का घनबहादुर ताडीले बताए। साठीदेखि ७० रोपनीमा लगाउन गरेको अदुवा खेती विचौलिया व्यापारीका कारण मिहिनेत गरे जति मूल्य नपाएको र भारत तथा जिल्ला बाहिरका व्यापारी नआउँदा न्यून मूल्य भएपछि अदुवा खेती छोडेर पिँडालु खेती गरेको बताए ।
यस वर्ष रु १५ हजार बराबरको पिँडालु बिक्रीबाट आम्दानी भएको ताडीले बताए। यस क्षेत्रमा बढी मात्रमा उत्पादन हुने अदुवाको मूल्यसँगै बजारमा नबिक्ने भएका कारण अदुवा खेती छोडेर कोही फलफूल खेती त कोही पिँडालु खेति गरिरहेको ताडीले बताए।
किसानको जीविकोपार्जन गर्दै आएको अदुवा खेती पछिल्लो समय बजार र कम मूल्य भएका कारण अधिकांश किसान पिँडालु खेती गरिरहेको बडीकेदार गाउँपालिका कृषि शाखा प्रमुख सुरेन्द्र शाहीले बताए । रासस