काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री बाहेकका साझा पदहरुमा विपक्षी दलसँग समझदारी गरेर अघि बढ्नु पर्ने बताएका छन् ।
प्रधानमन्त्री अंकगणितबाट निर्धारण हुने भएपनि अन्य साझा पदहरुमा भने विपक्षी दलसँग समझदारी गर्न आवश्यक रहेको बताएका हुन्। उनले संवैधानिक निकायमा नियुक्ति गर्ने कुरामा नेपाली कांग्रेसले सोच्नु पर्ने बताए । उनले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष र प्रदेश प्रमुख लगायतका साझा पदहरुमा विपक्षी दलसँग समझदारी गरेर अघि बढे मात्रै राजनीतिमा स्थिरता कायम हुने बताए ।
सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव रिमालले समझदारीका रुपमा अघि नबढे मुलुकमा अस्थिरता पैदा हुने पनि बताए । उनले गठबन्धनमा रहेका नेता र दलहरुले विपक्षीसँग मिलेर जाने दृष्टिकोण नबनाए राजनीति झनै अस्थिरतामा जाने बताए ।
गत प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनमा एमालेले सोचेको जति स्थानमा जित हासिल गर्न नसक्नुमा नेकपा एमालेका ३६ जना उम्मेदवारहरुमाथि निर्वाचनमा हराउने अभियान चलाउनु रहेको उनले बताए। उनले गत निर्वाचनमा ३६ जना नेकपा एमालेका उम्मेदवारहरुमाथि लिस्ट बनाएर नै निर्वाचनमा हराउने अभियान चलाइएको आरोप लगाए । उनले एमालेले निर्वाचनमा ६ प्रतिशत भोट बढाउने भनेपनि ६ प्रतिशत भोट घटेको बताए ।
उनले निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको सिट संख्याको बारेमा निर्वाचन अघि कुनै पनि राजनीतिक कल्पना नै नगरेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको सिटका कारण अहिलेको निर्वाचन परिणाम फरक भएको बताएका छन् । उपमहासचिव रिमालले धनुषा २ नम्बर क्षेत्र, कपिलवस्तुको २ नम्बर र दाङ २ नम्बर क्षेत्र लगायतका केही ठाउँमा अनपेक्षित रूपमा नतिजा आएको बताए ।