काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खेलकुदले देशका जनताको सम्बन्ध प्रगाढ बनाउने बताएका छन् । शनिबारदेखि काठमाडौंको दशरथ रङ्गशालामा सुरु भएको एसिया रग्बी यू–१८ सेभेन्स च्याम्पियनसिपको उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
उनले खेल युवाको आपसी सम्बन्ध, देश र जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्ने माध्यम भएको बताए । उनले खेलले हरेक देशको अर्थतन्त्रको विकासमा, अन्तर्राष्ट्रिय भाइचाराको विकासमा र विश्वबन्धुत्वको क्षेत्रमा पनि खेल क्षेत्रले ठूलो भूमिका खेल्ने बताए । उनले आफू पनि युवाकालको खेलाडी भएकाले खेलप्रति विशेष रुचि रहेको बताए ।
उनले भने, ‘‘मैले आफ्नो जीवनमा पहिलोपटक रग्बी खेललाई प्रत्यक्ष लाइभ हेर्दैछु । म आफैँ पनि आफ्नो युवाकालको एउटा खेलाडी हुनुको नाताले प्रत्येक खेलप्रति मेरो विशेष अभिरुचि रहेको छ। भर्खरै नेपाल नवौँ राष्ट्रिय खेलको आयोजना भयो। त्यसमा पनि रग्बीलाई एउटा खेलको रूपमा प्रतियोगितामा सामेल गरिएको थियो। खेल आजको दुनियाँमा विभिन्न देशका जनताको सम्बन्ध, युवाको आपसी सम्बन्ध, देश र जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्ने माध्यम भएको छ। यो हरेक देशको अर्थतन्त्रको विकासमा, अन्तर्राष्ट्रिय भाइचाराको विकासमा, विश्वबन्धुत्वको दिशामा पनि खेल क्षेत्रले ठूलो भूमिका खेलेको हुन्छ।’’
अध्यक्ष दाहालले नेपालमा रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता योजनाले देश चिनाउन महत्त्वपूर्ण योगदान रहने बताए । नेपाल खेलको लागि असाध्यै महत्त्वपूर्ण स्कोप भएको देश भएको उनको भनाइ छ। हाम्रा प्राकृतिक विषमता छन्, तराई, हिमाल, पहाडी भूभाग छन्, यहाँ विश्वका सबै खालका खेल खेल्नका लागि नेपाल उपयुक्त छ।