काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले समानता, भाइचारा र देशको समृद्धिका लागि काम गर्न आफ्नो पार्टी प्रतिबद्ध भएर लागिपर्ने बताएका छन् । सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अध्यक्ष राउतले जनताको अपेक्षाअनुसार आफूले ‘डू एण्ड डाई’को मनस्थितिमा काम गर्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पारे ।
शनिबार (आज) पार्टीद्वारा काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताले आफ्नो पार्टीलाई अन्तिम आशाको नजरले हेरेको भन्दै उनीहरुको आशालाई निराश हुन नदिने गरी रात दिन काममा खटिने योजना पनि रहेको बताए ।
अध्यक्ष राउतले जनताको अपेक्षा पूरा गराउनका लागि आगामी दिनमा झन् बढी सहयोगको अपेक्षा गरिएको पनि बताए । एउटा व्यक्ति सांसद, मन्त्री वा प्रधानमन्त्री हुँदैमा केही गर्न नसकिने तर सबैको सहयोग पाए जनताको हितमा काम गर्न सकिने उनको भनाइ थियो ।
मतदाताले आफ्नो पार्टीलाई अन्तिम आशा भनेको भन्दै त्यो आशा पूरा गर्न आफूले डू एण्ड डाइको रणनीति अपनाउने बताए ।
‘जनताले जुन अपेक्षा हामीसँग राखेका छन, त्यो अपेक्षा कति ठूलो छ भन्ने तपाईंंहरुलाई पनि अनुमान छ । कतिपयले त अन्तिम आशा समेत भन्नु हुन्छ । मलाई त्यो शब्द प्रयोग गर्दा एकदम डर लाग्छ । अन्तिम आशा किन खतरनाक लाग्छ भन्दाखेरी हामीले यदि काम गर्न सकेनौ भने के हुन्छ रु अन्तिम आशा तोडियो भने के हुन्छ त रु देश निराशामा जान्छ । जनता निराशामा जान्छन् । त्यो भएर यदि जनताले हामीलाई अन्तिम आशाको रुपमा देखेका छन् भने हाम्रो पनि जिम्मेवारी त्यही स्तरको हुनु पर्दछ । हाम्रो पनि मनस्थिति डू एण्ड डाईको मनस्थितिबाट काम गर्ने हुनुपर्दछु उहाँले भन्नुभयो ुत्यही भएर म तपाईंहरुसँग पनि आग्रह गर्न चाहन्छु–तपाईंहरु जहिले पनि हामीलाई सहयोग गर्ने अवस्थामा रहनुस् । सहयोग गर्न तयार रहनुस् । हामी तपाईंंलाई सहयोग गर्न जहिले पनि राति पनि आउन सक्छौं । दिउँसो पनि आउन सक्छौं । जतिबेला पनि आउन सक्छौं । तर यो तपाईंहरुको सहयोगले नै सम्भव हुनेछ ।’
अध्यक्ष राउतले जनताले दिएको सल्लाह र सुझावकै आधारमा आफ्नो पार्टी अघि बढ्ने पनि पटकपटक दोहोर्याए । त्यस अवसरमा उनले चुनावमा ठूलो आशा र भरोसाका साथ आफ्नो पार्टीलाई मतदान गरेको भन्दै मतदाताहरुलाई धन्यवाद समेत व्यक्त गरे ।