काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै नेपाल आयल निगमको नाफा ह्वात्तै बढ्ने भएको छ । निगमका अनुसार इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्यसूची अनुसार १५ दिनमा ५८ करोड रुपैयाँ नाफा हुने भएको हो ।
यसअघि प्राप्त मूल्यसूची अनुसार निगमलाई १५ दिनमा २६ करोड रुपैयाँ घाटा भएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको हो ।
यतिबेला अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ८७ अमेरिकी डलर छ । डब्लूटीआईको मूल्य प्रतिब्यारेल ८१ डलर र ब्रेन्टको मूल्य प्रतिब्यारेल ८७ अमेरिकी डलर छ ।
तेलसम्बन्धी जानकारी दिने ओयलप्राइसडटकमका अनुसार आगामी दिनमा कच्चा तेलको माग झनै घट्न सक्छ । र, यसको प्रत्यक्ष प्रभावका कारण मूल्य अझै घट्न सक्छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्दाको प्रभाव नेपाली बजारमा समेत परेको हो । यहीकारण यतिबेला निगमलाई १५ दिनको व्यापारबाट ५८ करोड रुपैयाँ फाइदा हुने स्थिति बनेको छ ।
अहिले चीन सरकारले कोरोना रोकथामका लागि भन्दै कडा लकडाउन घोषणा गरेको छ । यस्तै, यतिबेला चीनको बलियो सरकारविरुद्ध लकडाउन खुकुलो बनाउन भन्दै धेरै शहरहरूमा आन्दोलन भइरहेको छ ।
चीन विश्वको सबैभन्दा ठूलो पेट्रोलियम पदार्थ आयातकर्ता देश हो । चीनमा पेट्रोलियम पदार्थको माग कम भएपछि विश्वभर नै पेट्रोलियम पदार्थको माग कम भएर मूल्य घटेको हो ।
चीनमा भइरहेको लकडाउनको कारणले चीनको माग केही मात्रामा भएपनि घटेको छ । ठूलो खपतकर्तामा भइरहेको हलचलका कारणले अन्तर्राष्ट्रिय बजारमा तेलको माग घटेको छ ।