काठमाडौं । काठमाडौं उपत्यकाका धेरैजसो सार्वजनिक गाडी प्रदूषण परीक्षणमा फेल भएको छ । शुक्रवार काठमाडौंको बबरमहलमा प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग गाडीको प्रदूषण परीक्षण गर्दा धेरैजसो गाडी प्रदूषण परीक्षणमा फेल भएको पाइएको हो ।
आज विभागले गरेको ५४ वटा गाडीको प्रदूषण परीक्षणमा ३८ वटा गाडी फेल भएका पाइएको छ भने १६ वटा गाडी मात्रै पास भएका विभागले जनाएको छ । वातावरण विभागका महानिर्देशक नमराज घिमिरेले आजको प्रदूषण परीक्षणमा फेल हुने गाडीलाई मर्मत गरेर प्रदूषण पास हुनेगरी चलाउन समय दिएको बताए ।
उनले प्रदूषण फेल हुनेहरुले प्रदूषण परीक्षण गरी वातावरण विभागमा आएर पुनः परीक्षण गराइ पास भएपछि मात्रै कागजपत्रहरु फिर्ता लैजान पाउने बताए । उनले परीक्षण पास गर्न पठाएका गाडीहरु अर्को पटक पनि परीक्षण गर्दा फेल भएमा वातावरण संरक्षण ऐन २०७६ को दफा ४१ को उपदफा २ बमोजिम १ लाख रुपैयाँसम्मको कारबाही गर्ने चेतावनी दिए ।
महानिर्देशक घिमिरेले आउँदो दिनमा गाडी प्रदूषण फेल भएर चलाएको पाइएमा विभाग कारबाही गर्ने कुरामा पछि नहट्ने बताए । उनले विगतमा हालै मात्र प्रदूषण परीक्षण गराएको हो भनेर चालकहरु पन्छिने गरेको भन्दै यसपटक लापरबाही नगर्न आग्रह गरे ।
उनले भने, ‘आज हामीले प्रदूषण परीक्षण मात्रै गरेका छौँ । फेल हुनेहरुलाई मर्मत गरेर प्रदूषण पास हुनेगरी चलाउन समय दिएका छौँ । उहाँहरुले बनाएर पुनः वातावरण विभागमा आएर पुनः परीक्षण गराएर पास भएपछि उहाँहरुका कागजपत्रहरु फिर्ता गरिन्छ । पहिलो पटकलाई हामीले अहिले जरिबाना गरेका छैनौँ । अहिले पठाएका गाडीहरु पुनः अर्को पटक परीक्षण गर्दा फेल भयो भने वातावरण संरक्षण ऐन २०७६ को दफा ४१ को उपदफा २ बमोजिम वातावरण विभागको महानिर्देशकबाट १ लाख रुपैयाँसम्म जरिबाना हुनसक्ने भन्ने छ । हामी कडाइका साथ कारबाही गर्छौं ।
गाडी प्रदूषणसँगै ट्राफिक प्रहरीले यान्त्रिक अवस्था र कागजातपत्रको पनि जाँच गरिरहेको छ । यातायात व्यवस्था कार्यविधिअनुसार अहिले पनि प्रत्येक भाडाका गाडीले ६र६ महिनामा गाडीको प्राविधिक जाँच गराउनुपर्छ ।
यातायात कार्यालयमै गएर गरिने त्यस्तो जाँचको अनिवार्य सर्त प्रदूषण जाँचको रिपोर्ट गरिएको छ । परीक्षण पास नहुन्जेलको लागि रुट इजाजत निलम्बन हुने, गाडीमा रहेका यात्रुहरुलाई अन्तिम बिन्दुसम्म पुर्याएपछि गाडी गुडाउन नपाउने, आवश्यक मर्मतसम्भार पश्चात पुनः प्रदूषण जाँचको लागि वातावरण विभागमा सम्पर्क गर्नुपर्ने प्रावधान छ ।