काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशमा स्थिरता दिनका लागि कुनै एक पार्टीले बहुमत ल्याओस् भन्ने आफूले चाहेको बताएका छन् ।
आज आर्थिक पत्रकार समाज (सेजन) को २६ औँ वार्षिकोत्सवमा दिगो आर्थिक विकासका लागि आर्थिक एजेन्डाका बारेमा बोल्दै उनले अहिलेको अभिमतले अस्थिरतालाई नै निरन्तरता दिने बताएका हुन् ।
देशमा स्थिरता दिनका लागि कुनै एक पार्टीले बहुमत ल्याओस् भन्ने आफूले चाहेको भए पनि जनादेश त्यस्तो नआउनु देशका लागि दुर्भाग्यपूर्ण रहेको उनको भनाइ छ । उनले अहिलेको जनादेशबाट स्थिर सरकार नबन्ने जिकिर गरे ।
उनले भने, ‘स्थिरता र अस्थिरता जनादेशमा भर पर्ने कुरा हो । यस पटकको जनादेशबाट स्थिर सरकार बन्दैन । यसले अस्थिरतालाई नै निरन्तरता दिने देखिन्छ । म कुनै एउटा पार्टीले बहुमत ल्याओस् भन्ने चाहन्थेँ । उसका नीतिहरूको व्यावहारिक रूपमा परीक्षण होस् भन्ने म चाहन्थेँ । तर चाहना माथि जनादेश छ । राजनीतिक स्थिरताका निमित्त त्यति धेरै आशा गर्ने ठाउँ छैन ।’
उपाध्यक्ष पौडेलले नयाँ संविधान निर्माणपछि बनेका हरेक सरकारले गरेका कामहरूको मूल्याङ्कन हुन जरुरी रहेको बताए । उनले संविधान निर्माणपछि बनेका सरकारको कामहरू समीक्षा हुनुपर्ने माग पनि गरे ।
उनले नेकपा एमालेको सरकारले गरेका उपलब्धि र कमजोरीको आफू जिम्मेवारी लिने पनि बताए ।
उनले भने, ‘२०६२र०६३ को परिवर्तनपछि खास गरेर संविधान निर्माणपछि जुनजुन सरकार बने ती सरकारले गरेका कामहरूको वस्तुनिष्ठ ढङ्गले समीक्षा हुनुपर्छ । के उपलब्धि भए, के कमजोरी भए रु त्यसको मूल्याङ्कन हुनुपर्छ र हरेक सरकारले त्यसको जिम्मा लिनुपर्छ । नेकपा एमालेको तर्फबाट म भन्न चाहन्छु– हामी जिम्मा लिन्छौँ ।
तुलनात्मकरूपमा एउटा अत्यन्तै विषम परिस्थितिमा भूकम्पपछिको परिस्थिति, कोभिड १९ पछिको परिस्थिति, देशको अर्थतन्त्र सम्हाल्दा पनि हामीले सरकार हस्तान्तरण गर्दा तुलनात्मकरूपमा राम्रो थियो ।