काठमाडौं । चितवन रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थीहरूले आन्दोलन गरेका छन् । विश्वविद्यालयमा बेथितिपूर्ण तरिकाले स्नातक तहको प्रवेश परीक्षा सञ्चालन गर्न खोजिएको भन्दै विद्यार्थीहरूले आन्दोलन गरेका हुन् ।
विभिन्न राजनीतिक दल निकटका विद्यार्थी संगठनहरूले विश्वविद्यालयको केन्द्रीय कार्यालय, कृषि संकाय, प्रशासन, डीनको कार्यालय लगायतमा तालाबन्दी गरेका छन् । अनेरास्ववियू, नेविसंघ, अखिल क्रान्तिकारी, र अनेरास्ववियु (छैठौं) ले संयुक्त विज्ञप्ती जारी गरेर विश्वविद्यालयभित्रका समस्या समाधान गर्न माग गरेका छन् ।
विश्वविद्यालयमा व्याप्त रहेका विभिन्न बेथिति एवं विसंगतिविरूद्ध विश्वविद्यालयमा क्रियाशील सम्पूर्ण संगठनहरु एकजुट भएको बताउँदै उनीहरूले २१ बुँदे माग अघि सारेका छन् ।
कृषि संकायको छलफल समिति र विद्यार्थी प्रतिनिधिबीचको छलफलमा विद्यार्थीहरूले स्पष्ट रूपमा राखेको मागलाई वेवास्ता गर्दै कृषि संकाय, डिनको कार्यालयले प्रकाशन गरेको गरेको संसोधित सूचना नामको छलकपटले आफ्नो मागलाई सम्बोधन नगरेको उनीहरूको भनाई छ । भर्नाको सम्पूर्ण प्रकिया तत्काल बन्द गर्नुपर्ने उनीहरूको माग छ ।
त्यस्तै पठनपाठन समयतालिका बमोजिम हुनुपर्ने र विद्यार्थीले फोन गरेर कक्षा राख्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने, पाठ्यक्रममा भएको सम्पूर्ण प्रयोगात्मक कक्षा हुनुपर्ने, जीर्ण भौतिक संरचनाको तत्काल मर्मत सम्भार हुनुपर्ने र अपूर्ण भौतिक संरचनाको तत्काल ब्यवस्था गर्नुपर्ने माग अघि सारेका छन् ।
आफुहरूले अघि सारेका मागहरू यथाशीघ्र सम्बोधन नगरे कडा रूपमा प्रस्तुत हुने उनीहरूको चेतावनी छ । अनेरास्वविय केन्द्रीय क्याम्पस कमिटी अध्यक्ष विक्रम खनालले तयार नै नभएको पाठ्यक्रम लागू हुने सूचना निकालिएको बताए ।