काठमाडौं । दार्चुलामा एमालेले प्रतिनिधिसभा र प्रदेश सभातर्फको सबै सिट गुमाएको छ । २०७४ सालको चुनावमा वाम किल्लाका रूपमा चिनिएको एमाले यस पटकको चुनावमा भने जितविहीन भएको हो ।
एमाले नेता सुदूरपश्चिम प्रदेश सह इन्चार्ज पूर्व मन्त्री गणेश सिंह ठगुन्नाको गृह जिल्ला दार्चुलामा एमालेले प्रतिनिधिसभा र प्रदेशसभातर्फ सबै सिट गुमाएको छ । प्रतिनिधिसभा तर्फ एमालेका उम्मेदवार गणेश सिंह ठगुन्ना नै पराजित भएका छन् ।
उनी नेपाली कांग्रेसका नेता दीलेन्द्र प्रसाद बडूसँग पराजित भएका हुन् । यस्तै एमाले प्रदेशसभातर्फ पनि दुवै निर्वाचन क्षेत्रबाट जोगिन सकेन ।
दार्चुलामा एमाले नेता गणेश सिंह ठगुन्ना बलियो उम्मेदवारका रूपमा लिइएको थियो । तर अन्तिम नतिजा भने उनको पक्षमा हुन सकेन ।
२०७० र ०७४ मा लगातार दुई कार्यकाल जितेको एमालेले यस पटक आफ्नो किल्ला गुमाएको छ । दुई कार्यकाल नै ठगुन्नाले जितेका थिए ।
ठगुन्ना यस पटकको जितमा ह्याट्रिक गर्ने दाउमा थिए । अहिलेको चुनावमा बहालवाला मन्त्री बडूलाई सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्र लगायतको साथ थियो भने एमालेका उम्मेदवार ठगुन्ना एक्लै चुनावी मैदानमा आएका थिए ।
२०७४ को चुनावमा समानुपातिक सांसद बनेका मन्त्री बडू यस पटक सत्ता गठबन्धनको भरमा चुनाव जितेका हुन् । यो पटक प्रदेशसभा (क) मा नेपाली कांग्रेस महासमिति सदस्य तथा गठबन्धनका साझा उम्मेदवार विक्रम सिंह धामी विजयी भएका छन् ।
३१ हजार ५ सय ४२ मत मध्ये १५ हजार १ सय २७ मत प्राप्त गर्दै धामी विजयी भएका हुन् । नेकपा एमालेका हरदेव जोशीले कुल खसेको मत मध्ये १३ हजार ४५१ मत प्राप्त गरेका छन् ।
प्रदेश सभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार मानबहादुर धामी विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीलाई १ हजार ३१५ मतान्तरले पराजित गर्दै धामी विजयी भएका हुन् ।
उनले १३ हजार १७१ मत पाए । एमालेका उम्मेदवार राम दत्त जोशीले ११ हजार ८५६ मत प्राप्त गरे । धामी २०७४ सालमा यसै क्षेत्रबाट वाम गठबन्धनको प्रदेश सभामासमेत विजयी भए ।