काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा १ बाट विजयी हुने निश्चित भएको छ । शर्माले ३८ हजार ४५८ मत ल्याएका छन् ।
उनका निकटतम् प्रतिस्पर्धी एमालेका अग्निप्रसाद खरेलले २४ हजार ५९३ मत ल्याएका छन् । उनीहरू दुवैको मत अन्तर १३ हजार ८६५ रहेको छ ।
सो क्षेत्रमा ८१ हजार ७६४ मत खसेको थियो । हालसम्म ७६ हजार ४३७ मत गणना भइसक्दा विश्वप्रकाशले यस्तो अग्रता लिएका हुन् ।
बाँकी मत सबै खरेलले ल्याउँदा पनि शर्माले जित्ने निश्चित भएको हो । मेचीनगर नगरपालिका, ९ झापा स्थायी ठेगाना भएका शर्माको जन्म झापाकै धुराबारीमा २०२७ साल पुस ६ गते भएको हो ।
स्नातकसम्म अध्ययन गरेका उनी वाकपटुता भएका बौद्धिक नेता मानिन्छन् । २०४१ सालमा नेविसंघको विद्यालय इकाई समितिका सभापति भएका उनी २०४३–०४५ मा मेची क्याम्पस इकाई सभापतिको रुपमा निर्वाचित भएका थिए ।
स्कुल, क्याम्पसको सफल कार्यकाल सम्हालेका उनी नेविसंघको केन्द्रीय सदस्य, महामन्त्री हुँदै २०५७ मा केन्द्रीय सभापति बनेका थिए । अघिल्लो महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका शर्मा हालै सम्पन्न महाधिवेशनबाट अत्यधिक मतका साथ महामन्त्रीमा विजयी बनेका हुन्।
उनी २०७५ मा केही समय पार्टीको प्रवक्ता पनि बनेका थिए । शर्मा राजनीतिक आन्दोलनका क्रममा विभिन्न समयमा प्रहरी हिरासतमा बसेका थिए । शर्मा यसअघि २०७४ सालको निर्वाचनमा माओवादी नेता राम कार्कीसँग पराजित बनेका थिए ।