काठमाडौं । बझाङमा निर्वाचन सम्पन्न भएको तीन दिनपछि मतगणना सुरू भएको छ । बझाङको सबैभन्दा विकट मानिएको साइपाल गाउँपालिकाका मतपेटिका सदरमुकाम ल्याउन ढिलाइ भएपछि मतगणना सुरू हुन सकेको थिएन ।
मुख्य निर्वाचन अधिकृत नन्दकिशोर प्रसाद यादवले मतगणना सुरू भएको बताए । सबै क्षेत्रको मतपेटिका सदरमुकाम ल्याईसकिएपछि साईपाल गाउँपालिका र विथ्थडचिर गाउँपालिकाबाट मतगणना थालिएको हो ।
सर्वदलीय बैठक बसेर दिउँसो ३ बजेदेखि मतगणना सुरू गर्ने निर्णय गरेको थियो । तर, कर्मचारी लगायत अन्य व्यवस्थापन गर्दा ढिलागरी मतगणना सुरू भएको हो । दुर्गम क्षेत्रका मत्र पेटिका हेलिकप्टर मार्फत सदरमुकाम ल्याइएको थियो ।
प्रतिनिधिसभा सदस्य तर्फ १ निर्वाचन क्षेत्र रहेको बझाङमा ४ वटा मत गणना स्थलमार्फत मत गणना थालिएको छ । त्यस्तै २ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको प्रदेशसभा तर्फ पनि २/२ वटा मतगणनास्थल बनाएर मतगणना गरिन थालेको छ ।
बझाङमा प्रतिनिधिसभा सदस्य निर्वाचत तर्फ ६३ हजार ४८९ मत खसेको थियो । प्रदेशसभा तर्फ प्रदेश ‘१’ का लागि ३२ हजार ८ सय ३३ मत खसेको थियो । भने ‘२’ मा ३० हजार ६५६ मत खसेको थियो ।
प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका छन् । भने उनका प्रतिस्पर्धी नेकपा एमालेका ऐन महर छन् । त्यस्तै राप्रपाबाट विश्वप्रकाश जेठारा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रेम राज जोशी उम्मेदवार बनेका छन् ।
प्रदेशसभा तर्फ १ मा गबन्धनका तर्फबाट कांग्रेसका पृथ्वी बहादुर सिंह र एमालेका अफिलाल ओखेडा उम्मेदवार बनेका छन् भने क्षेत्र नम्बर २ बाट गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भिम भण्डारी, एमालेका लालबहादुर रावल लगायतका उम्मेदवार छन् ।