काठमाडौं । दलहरुबीच सहमति हुन नसक्दा प्रदेश–१ को नामकरणमा अन्योल बढ्दै गएको छ । दलहरु आ-आफ्नो अडानबाट पछि नहट्दा चालु अधिवेशनबाट पनि प्रदेशको नामकरण हुने सम्भावना कम देखिएको छ ।
दलहरुले सहमति जुटाउन ढिलाइ गर्दा विभिन्न जातजाति, संस्कृति, सभ्यता र भूगोलका नाममा नामकरण गर्नुपर्ने माग गर्दै प्रदर्शन बढ्न थालेका छन् । ७ मध्ये ६ प्रदेशले आफ्नो नामकरण गरिसकेका छन् ।
प्रदेश–१ को मात्र नामकरण हुन बाँकी छ । यसअघि २०७५ साल वैशाख २३ गते प्रदेशको राजधानी विराटनगर टुङ्गो लागे पनि नामकरण भने हुन सकेको थिएन । प्रदेशको नाम टुङ्ग्याउन भन्दै गएको शुक्रवार प्रदेश–१ का सभामुख प्रदीपकुमार भण्डारीले सर्वदलीय बैठक बोलाएका थिए । तर, दलहरु आ-आफ्नै अडानमा रहेपछि सहमति हुन सकेन ।
प्रदेश–१ मा कोशी, किराँत, कोशी–किराँत, सगरमाथा, किराँत/लिम्बुवान, शेर्पालुङ/मधेस, विराट, विजयपुर, सप्तकोशी र लिम्बुवान/खम्बुवान लगायतका नाम चर्चामा छन् ।
एकीकृत समाजवादीले किराँत प्रदेशको प्रस्ताव गरेको छ । माओेवादी केन्द्र पनि एकल पहिचानको पक्षमा छ । नेपाली कांग्रेसले सप्तकोशी र नेकपा एमाले कोशी नाम प्रस्ताव गरेको छ ।