काठमाडौं । लोक दोहोरी गायिका दिलमाया सुनारको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान सकेको छ ।
प्रहरी वृत्त, बालाजुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रका अनुसार प्रहरीले अहिले रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ ।
गायिका सुनार ११ असारमा नेपालटारस्थित डेरामा मृत अवस्थामा फेला परेकी थिइन् । अनुसन्धान अधिकृतहरुका अनुसार घाँटीमा ‘मार्क’बाहेक शरीरमा अन्य कुनै संकेत देखिएको थिएन । तर राति कोठामा सँगै रहेका प्रेमी गोठाटारका सूर्य श्रेष्ठ फरार रहेको खुलेपछि घटना शंकास्पद बनेको थियो ।
प्रहरी नियन्त्रणमा पुगेपछि उनले सुरुमा झुठो बयान दिएका थिए । पछि राति सँगै सुतेको सुनारलाई बिहान झुण्डिरहेको अवस्थामा देखेपछि निकालेको उनले बयान दिएका थिए । आत्तिएपछि आफू उनी झुण्डिएको सल लिएर भागेको बताएका थिए । उनकै बयानका आधारमा प्रहरीले हराएको सल पनि बरामद गरेको थियो ।
घटनास्थलको प्रकृति हेर्दा सुरुवात्मा शंकास्पद नदेखेको भन्दै प्रहरीले मुचुल्का गरेर शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको थियो । पोष्टमार्टम प्रतिवेदनले पनि घाँटीमा डोरी जस्तो वस्तुले थिचिएकै कारण मृत्यु भएको रिपोर्ट दिएको थियो । तर प्रतिवेदन आउन अगावै परिवारले श्रेष्ठविरुद्ध ज्यान सम्बन्धी कसूरमा किटानी जाहेरी दिएको थियो ।
सुनारले घटना भएको दिन बिहान १ः२० बजे ‘कसैको माया पाउन जति कोशिश गरे पनि पाउन सकिन, तर पनि हार खाइन । तर अहिले धेरै गाह्रो भयो, म बाँचेर पनि दिन्दिनै मर्न सकिनँ, आमा’ भन्दै स्ट्याटस लेखेकी थिइन् ।
स्ट्याटसमा आफ्नो इच्छाले यो कदम उचालेको भनाइसहित ‘कसैले खोजी नीति पनि नगर्नु र पोष्टमार्टम पनि नगर्नु’ भनिएको थियो । तर स्ट्याटस लेख्न प्रयोग भएको मोबाइल प्रहरीले फेला पार्न सकेन । सुरुमा श्रेष्ठले दिएको झुठो बयान र मोबाइल पनि नभेटिएका कारण परिवारले हत्या भएको दाबी गर्दै जाहेरी दिएको थियो ।