झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनावमा एमालेको विजयलाई कसैले रोक्न नसक्ने बताएका छन् ।
मंगलबार गृहजिल्ला झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले झापा एमालेको लालकिला भएकाले कसैले एमालेको विजयलाई रोक्न नसक्ने बताएका हुन् ।
उनले भने, ‘एमालेको जित रोक्ने ल्याकत कसैसँग छैन ।’ अध्यक्ष ओलीले एमालेले मात्र विकास गर्ने दोहो¥याए । देशमा विकास चाहनेले एमालेलाई जिताउनुको विकल्प नभएको ओलीको टिप्पणी छ । झापाको हल्दिबारीमा एमालेको जित निश्चित भएको दोहो¥याउँदै ओलीले भने, ‘एमालेलाई जित्न कसैको एक्लो तागतले पुग्दैन, पाँच जना चाहिन्छ ।’
मंगलबार नै ओलीले बिर्तामोडमा पनि सम्बोधन गरे । बिर्तामोडमा एमालेले पवित्रा महतारा मेयरमा उठाएको छ । उनले भने, ‘विभिन्न पार्टी परमादेशबाट सरकार बनाएर सिन्को भाँचेनन्, हामी जनादेशबाट सरकार बनाउँछौँ । अनि देखाउँछौँ, विकास कसरी हुँदो रहेछ ।’
कार्यक्रममा ओलीले कांग्रेसको खुलेरै मजाग उडाए । ‘म कांग्रेसका साथीहरू देखेर छक्क पर्छु,’ उनले भने, ‘कांग्रेसका कार्यकर्ताले कसरी मन थामेर बसेका छन् होला, नेताले के गरेको यस्तो ? दश महिनामा देशको अर्थतन्त्र के भयो ?’
ओलीले सम्बोधनका क्रममा एमालेले सुरु गरेको विकासको विषयमा कुरा उठाए । एमालेले सुरु गरेको आयोजना स्मरण गरे । उनले एमाले विकासको संवाहक भएको बताए । पटक–पटक कांग्रेससहितको गठबन्धनसँग खनिए । उनले भने, ’यो चुनावबाट गठबन्धन पत्तासाफ हुनेछ ।’