काठमाडौं । नेपाल-चीन सीमा क्षेत्रमा रहेका हिमतालबाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि दुवै देशका स्थानीय अधिकारीले चीनतर्फ रहेका पाँच वटा हिमतालको प्राविधिक अध्ययन गराउन पहल गर्ने सहमति गरेका छन्।
चीनको ताक्लाकोटमा हालै भएको नेपाल-चीन स्थानीय अधिकारीस्तरीय छलफलमा सीमा क्षेत्रमा देखिन सक्ने प्राकृतिक विपद्, हिमताल विस्फोटको सम्भावित जोखिम, सीमा व्यवस्थापन, व्यापार तथा पूर्वाधार विकासका विषयमा छलफल भएको हो। हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंका अनुसार चिनियाँ भू-भागमा रहेका लेक राक्षस, लेक मानसरोवर, गोन्जुका, आवुका र सिरिमाललगायत हिमतालको अवस्था अध्ययन गर्न दुवै पक्षले आ-आफ्नो संघीय सरकारसँग पहल गर्ने सहमति गरेका छन्।
हिमतालको पानीको मात्रा, जोखिमको अवस्था र सम्भावित विस्फोटबाट नेपालतर्फ पर्न सक्ने प्रभावबारे प्राविधिक अध्ययन आवश्यक रहेको विषय बैठकमा उठाइएको थियो। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हिमताल तथा प्राकृतिक विपद्को जोखिमप्रति चीनले समेत चासो देखाएको जनाइएको छ।
जोखिम न्यूनीकरणका लागि स्याटलाइट प्रविधिबाट हिमतालको नियमित अनुगमन गर्ने, हिमपात तथा मौसमसम्बन्धी सूचना आदानप्रदान गर्ने र जोखिम देखिएमा समयमै दुवै पक्षलाई जानकारी गराउने प्रणाली विकास गर्ने विषयमा समेत छलफल भएको छ।
छलफलमा सीमा स्तम्भको मर्मत, सीमापासलाई व्यवस्थित बनाउने, कृषि तथा पशुजन्य वस्तुको निर्यात, क्वारिन्टाइन व्यवस्था, सीमा हाटबजार र हिल्सास्थित मितेरी पुल सञ्चालनका विषय पनि उठेका छन्। नेपालले सीमा स्तम्भ नम्बर ६ को २ तथा ७ को १ र २ लगायत तीन वटा सीमा स्तम्भको मर्मत गर्नुपर्ने विषय चिनियाँ पक्षसमक्ष राखेको छ।
त्यस्तै, सीमापासको प्रक्रियालाई भविष्यमा डिजिटल प्रणालीमा लैजाने, सीमा क्षेत्रमा करिब ३० किलोमिटर क्षेत्रसम्म व्यापार-व्यवसाय सहज बनाउने तथा वर्षमा एकपटक सञ्चालन हुने सीमा हाटबजारलाई व्यवस्थित गर्ने विषयमा पनि छलफल भएको छ।
बैठकमा हिल्सा–सिमकोट सडक निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने विषयसमेत उठेको छ। उक्त सडकलाई चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ अर्थात् बीआरआईअन्तर्गत अघि बढाउन सकिने सम्भावनाबारे पनि छलफल भएको जनाइएको छ। स्थानीयस्तरबाट समाधान गर्न सकिने विषय तत्कालै समन्वय गरेर अघि बढाउने र संघीय सरकारको निर्णय आवश्यक पर्ने विषय सम्बन्धित माथिल्लो निकायमा पठाउने चिनियाँ पक्षले जनाएको छ।
सीमा क्षेत्रमा रहेका नेपाली सुरक्षाकर्मी तथा स्थानीयवासीलाई आवश्यक पर्दा ताक्लाकोटमा उपचारको व्यवस्था गर्न सकिने विषयमा समेत छलफल भएको छ। अब हुम्ला जिल्ला प्रशासन कार्यालय र ताक्लाकोटका सम्बन्धित अधिकारीबीच सीमा क्षेत्रसँग सम्बन्धित विषयमा नियमित सूचना आदानप्रदान गर्न इमेलमार्फत सम्पर्क कायम गर्ने सहमति भएको छ।
नेपाल–चीन सीमावर्ती क्षेत्रमा प्राकृतिक विपद्को जोखिम न्यूनीकरणसँगै व्यापार, आवागमन र पूर्वाधार विकासका विषयमा स्थानीय तहमा हुने समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले संवादलाई निरन्तरता दिने तयारी गरिएको छ।