काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङले सत्तारुढ दलहरूले स्थानीय तह चुनावका लागि आफूखुसी दिएको उम्मेदवारी हटाउन सबै ठाउँमा पहल भइरहेको बताएका छन् ।
‘उम्मेदवारी फिर्ता लिने बेलासम्म संसद छलफल गर्दै लगेर वडास्तरमा पनि सहकार्य गर्न सके हुन्थ्यो भन्ने ढंगले काम गरिराखेका छौँ,’ गुरुङले भने, ’कतिपय पालिका र वडास्तरमा दलहरूले आ–आफनो दलको नोमिनेशन गराएका छन् । तर, संवाद चलाउँदै लगेर नाम फिर्ता लिने बेलासम्म सबै ठाउँमा सहमति जुटाउन प्रयास र पहल भइराखेको छ ।’
सत्तारुढ दलहरूबीचको सहमतिविपरीत पनि स्थानीय तहमा उम्मेदवारी मनोनयन भएको उल्लेख गर्दै गुरुङले त्यसलाई हटाउन सक्दो पहल र प्रयास भइरहेको बताए । उनले एमालेप्रति संकेत गर्दै प्रतिगमनकारी, संविधानविरोधी शक्तिलाई हावी हुन नदिन आफूहरू सचेत रहेको उनको भनाइ थियो ।
संवाद डबलीले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रमुख सचेतक गुरुङले एमालेले प्रतिगमनकारी, पश्चगमनकारी कदम चालेकाले त्यसलाई रोक्न यथास्थितिवादी कांग्रेससँग गठबन्धन बनाउनु परेको तर्क गरे ।
’प्रतिगमन र पश्चगामी शक्तिहरूलाई हावी हुन नदिने गरी हामी अन्य दलसँग सहकार्य गरेर अघि बढ्न तयार छौँ,’ गुरुङले भने ।
केपी ओली नेतृत्वको सरकारले साँढे ३ वर्षको आफ्नो कार्यकालमा उत्पादनमुलक क्षेत्रमा लगानी नगरेको कारण मुलुकको आर्थिक अवस्था कमजोर बनेको आरोप लगाए । उत्पादनमुलक क्षेत्रमा लगानी नहुँदा मुलुकमा आयातित वस्तुहरूमा लगानी गर्न बाध्य हुनुपर्ने अवस्था आएको उनको भनाइ थियो ।