काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भू-भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ । अहिले पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही वाग्मती प्रदेश र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ भने, गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, भोलि दिउँसो देशको गण्डकी प्रदेश, वाग्मती प्रदेश, मधेश प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहि बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ का थोरै स्थानहरू र गण्डकी प्रदेश, वाग्मती प्रदेश र मधेश प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राती देशको प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। यो समयमा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।
साथै देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न पनि आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।