भारतले नेपालमा हुँदै आएको औषधि निर्यात जारी राख्ने भएको छ । भारतले शुक्रबार नेपालसहित १३ देशलाई हाइड्रोक्सी क्लोरोक्विन (एचसीक्यू) र सिटामोल औषधि दिने निर्णय गरेको छ ।
भारतीय विदेश मन्त्रालयका एक अधिकारी दम्मु रविले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार भारतले नेपाल, भुटान, बंगलादेश, अफगानिस्तान, माल्दिभ्स, अमेरिका, स्पेन, जर्मनी, ब्राजिल, बहराइन लगायतका देशलाई यी औषधि उपलब्ध गराउने छ ।
कोरोना भाइरसको महामारीसँगै विश्वभर यी दुई औषधिको माग उच्च छ । भारत हाइड्रोक्सीक्लोरोक्विन औषधि धरै उत्पादन गर्ने देश हो । मलेरियाका लागि उपयुक्त हुने भनिने हाइड्रोक्सीक्लोरोक्विन औषधि उपलब्ध गराइदिन यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका थिए ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीबीच शुक्रबारै औषधिलगायतका अत्यावश्यक सामान आयात–निर्यातका विषयमा टेलिफोन वार्ता भएको थियो ।
वार्ताको क्रममा उनीहरुबीच भाइरस नियन्त्रणको लागि अहिले भइरहेका प्रयास र यसका लागि आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको थियो । उनीहरुबीच अहिले दुवै मुलुकमा लकडाउन रहेकाले एकअर्काको मुलुकमा रहेका नागरिकहरुलाई आवश्यक कोष र स्वास्थ्य स्याहार प्रदान गर्ने सहमति भएको थियो ।