काठमाडौं- चीनमा कोरोनाभाइरसको महामारी फैलिएको अवस्थामा त्यहाँ रहेका करिब १ सय ७७ जना नेपालीलाई नेपाल ल्याउँने तयारी भइरहेको छ तर उनीहरुलाई कहाँ राख्ने भन्ने टुंगो अहिले सम्म लागि सकेको छैन् ।
शनिबार बसेको मन्त्री परिषद्को बैठकले चीनमा रहेका नेपाली विद्यार्थीहरुको स्वास्थ्य तथा उनिहरुको अभिभावकहरुको चिन्ता र चासोलाई ध्यानमा राख्दै चीनको वुहानमा रहेका लगभग १ सय ७७ जना नेपालीलाई नेपाल ल्याउने तयारी गरिएको छ । तर अहिले सम्म ती १ सय ७७ जना लाई कहाँ ? कुन स्थानमा राख्ने भन्ने कुरा निर्णय नभइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए ।
शनिवार मात्र बेइजिङस्थित नेपाली दूतावासले वुहानमा रहेका नेपाली विद्यार्थीहरुलाई सुरक्षित तवरले नेपाल ल्याउनका लागि फारम भर्ने सूचना समेत जारी गरेको थियो ।
फारम भरेका विद्यार्थीहरुलाई ल्याउँन नेपाल वायुसेवा निगमको विशेष विमान पठाउने तयारी भइरहेको श्रेष्ठले बताए । तर ती विद्यार्थीलाई कसरी सुरक्षित स्थानमा राख्ने भन्ने कुरामा छलफल भइरहेको समेत बताए ।
उनका अनुसार जावलाखेलस्थित स्टाफ कजेल, कीर्तिपुस्थित आयुर्वेदिक तालिमकेन्द्र, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका तालिमकेन्द्र वा कुनै ब्यारेक वा भक्तपुर स्थित विधुत तालिम केन्द्रमा राख्ने कि भन्ने कुरामा छलफल भइरहेको छ ।
श्रेष्ठ भन्छन् 'वुहानबाट आउँने विद्यार्थीहरुलाई नेपाल ल्याउँदा पनि स्वास्थ्य परीक्षण गरिने', र 'त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा स्वास्थ्य परीक्षण गरि संक्रमित विद्यार्थीलाई उपत्यकाका तोकिएका अस्पतालहरुमा आइसोलेसन वार्डमा राखि उपचार हुने,' र 'अन्य विद्यार्थीलाई १५ दिन सम्म निगरानीका लागि छुटै स्थान (क्वारेन्टइन) मा राखिने छ ।'
यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा चाँडै नै फैलने भएकाले वुहानबाट आउँने विद्यार्थीहरुलाई सुरक्षीत कहाँबाट कसरी ल्याउने भन्ने तयारी सबै एम्बेसीले गरिसकेको उनले बताए ।
विश्व स्वास्थ्य संगठनको तथ्याकंका अनुसार अहिले सम्म कोरोना भाइरसको संक्रमणका काराण ३ सय ५ जनाको मृत्यु भइसकेको छ । चीनसहित विश्व भर ३६ देशमा यसरको संक्रमण फैलिसकेको छ ।