गिता राई
काठमाडौं । नेपालको पहिलो क्रिकेट टोलीका कप्तान एलबी क्षेत्रीको आत्मसंस्करण ‘कप्तान १९९८’ को आज विमोचन गरिएको छ । काठमाडौंमा आज एक कार्यक्रमको आयोजना गरी क्षेत्रीले आफ्नो भोगेका भोगाईहरुको आत्म संस्करण ‘कप्तान’को विमोचन गर्नुभएको हो ।
उक्त पुस्तक नेपाल क्रिकेट संघ क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डे, पूर्वकप्तान पवन अग्रवाल, विनोद दास, उत्तम कर्माचार्यले सयुक्तरुपमा सार्वजनिक गर्नुभएको हो ।
क्षेत्रीले भने, ‘जुन कुरा मैले बुझेँ, देखेँ, हेरे त्यो कुरालाई लिपिबद्ध गर्ने जमर्को गरेको छु ।’ ‘म बंगालमा पढेँ, हुर्किए । जीवनको चुनौती एकातिर, खेल जीवन अर्कोतिर त्यो बेला कस्तो समस्या आएको थियो, त्यो सबै कुरालाई पुस्तकमा समेटेको छु ।’ त्यस्तै, नेपालका पूर्वकप्तान पवन अग्रवालले यो किताबले खेलाडीलाई प्रोत्साहन पुग्ने दाबी गर्नुभयो ।
कार्यक्रममा नेपाली क्रिकेटका पूर्वकप्तान तथा नेपाली महिला क्रिकेट टिमका मुख्यप्रशिक्षक विनोद दासले किताबले नेपाली क्रिकेटको बारेमा धेरै कुरा सिकाउने भन्दै साहसिक कदम चालेको उल्लेख गर्नुभयो । पूर्वकप्तान क्षेत्रीले सन् १९९८ मा नेपालमा भएको दोस्रो एसीसी कप क्रिकेट प्रतियोगितामा नेपालको कप्तानको भूमिका निर्वाह गरेका गर्नुभएको थियो ।
क्षेत्रीको पुस्तकलाई क्रिएटिभ बुक्सले प्रकाशन गरेको छ । नेपाली खेलकुद जगतमा यो दोस्रो पुस्तक हो भने क्रिकेटमा पहिलो हो । यसअघि भारोत्तोलन खेलाडी सुरेन्द्र हमालले पनि आफ्नो आत्मकथा ‘ओलम्पियन’ निकाल्नुभएको थियो ।
खेलकुद पत्रकार महासंघको अध्यक्ष महेश आचार्यले नेपाली खेलकुदको बारेमा किताब ल्याउने, छाप्ने, लेख्ने क्रम एकदमै पातलो भएको भन्दै जति सक्दो किताब नेपाली खेलकुद, नेपाली खेलाडीको बारेमा निकाल्न सक्यौं त्यसले नेपाली खेलकुदलाई नै सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।