कर्णाली । मध्यपश्चिम विश्वविद्यालयद्वारा गठित उच्चस्तरीय समस्या समाधान समिति र विद्यार्थी संगठनबीच वार्ता भइरहेका बेला पुनः उपकुलपतिको निवास र परीक्षा व्यवस्थापन कार्यालय तोडफोड भएको छ ।
केही विद्यार्थीको अगुवाईमा उपकुलपतिको निवास र परीक्षा व्यवस्थापन कार्यालय तोडफोड भएपछि उपकुलपतिको कार्यालयले घटनामा संलग्न बिद्यार्थी माथि तत्काल कारवाहि गर्न मागगर्दै प्रहरीमा किटानी जाहेरी दिएको उपकुलपति प्राध्यापक डाक्टर नन्द वहादुर सिंहले बताएका छन् ।
रातको समयमा आएको अराजक जत्थाले ढुंगामुढा प्रहार गर्दा उपकुलपतिको निवासको अधिकांश झ्यालढोको सिसा फुटेको छ भने विश्व विद्यालयको गाडीमा क्षति पुगेको छ । क्यापिटल एफ.एम. को नियमीत कार्यक्रम सिधा कुरासंगको संवादमा उपकुलपति डाक्टर सिंहले तोडफोडको घटनामा संलग्न विद्यार्थीलाई कानूनी कारबाही गर्न माग गरेको बताए ।
प्रमुख राजनीतिक दलसम्वद्ध विद्यार्थी संगठनको नाममा आन्दोलन गरिरहेका विद्यार्थीले बिश्वविद्यालय भित्र भईरहेको आर्थिक, शैक्षीक तथा प्रशासनीक सुधार रोक्न पटक पटक यस्तै अराजक जत्था परिचालीत हुने गरेको डाक्टर सिंहको आरोप छ । उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहको निवास रहेको विस्तारित कार्यालय र परीक्षा व्यवस्थापन कार्यालय तोडफोड हुंदा तत्काल प्रहरीले कारवाहि गर्न नसकेकोमा समेत मध्यपश्चिम विश्वविद्यालय प्रशासनले आशंका व्यक्त गरेको छ ।

उपकुलपति डाक्टर सिंहले, एक बर्षको अवधीमा विश्व विद्यालयको बेरुजु ७५ करोडबाट घटाएर आफुले ९ करोडमा झारेको, विश्वविद्यालयको नाममा भुक्तानी भईरहेको होटल तथा व्यक्तिगत खर्चको विल भुक्तानी रोकेको, विश्व विद्यालयको नुन पानी खाएर निजी कलेजमा विद्यार्थी आकर्षित् गर्ने उपप्राध्यापकलाई कारवाहि गरेको, विश्व विद्यालयमा नयां भर्ना खुलेपछि त्यसलाई प्रभावित पार्न विश्वविद्यालयको मुल गेटमा टायर बाल्ने जत्था परिचालन हुने गरेको भन्दै त्यस्ता भिजिलान्ते प्रबृति विरुद्ध निरन्तर लडिरहने बताए ।
अहिले केन्द्र तथा प्रदेशमा फेरिउको राजनीतिक समिकरणको आडमा पुरानै भिजिलान्ते जत्थाले अराजकता मच्चाएर विश्वविद्यालयमा लुट मच्चाउन खोजेको दावी डाक्टर सिंहको छ । बिश्व बिद्यालयमा विभिन्न संकायमा भर्ना हुने र पढ्दै नपढी उत्रिण हुनुपर्ने जत्थालाई केहि काम चोर उपप्राध्यापकले प्रयोग गरिरहेको भन्दै उपकुलपति डाक्टर सिंहले सरकार परिवर्तनको आडमा सल्वलाएका विरुद्धको कारवाहि नरोकीने पनि बताए ।
डाक्टर सिंहले डेढ वर्षअघि जिम्मेवारी सम्हाल्न सूर्खेत पुग्दा बोलेका केही राजनीतिक संवाद र विद्यार्थी संगठनका प्रतिनिधिसंग भएका छलफलका संवाद जोडेर प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवालाई अपमान हुने गरी बनाइएको नक्कली अडियो बारे तत्काल छानवीन गर्न समेत चुनौती दिए । उक्त नक्कली प्रायोजीत अडियो बनाएरप्रधानमन्त्रीको कार्यालयमा पठाइएको भन्दै डाक्टर सिंहले यो घटनामा संलग्नलाई कडा कारबाही गर्न समेत माग गरेका छन् ।
उपकुलपति सिंहले विश्वविद्यालयलाई ध्वस्त पार्न केही व्यक्तिहरु राष्ट्रिय राजनीतिक नेतृत्व परिवर्तनको मौका छोपी आफ्नो पक्षमा पार्न यस्ता आपराधिक क्रियाकलापको सहारा लिएको भन्दै त्यसमा संलग्न आपराधिक व्यक्तिलाई कुनै हालतमा उन्मुक्ति नदिने प्रष्ट पारे । उपकुलपति प्रा. डा. सिंहले विश्वविद्यालयमा भइरहेको बेथितिविरुद्ध कडा कदम चालेपछि आफूविरुद्ध घेराबन्दी भएको जिकिर पनि गरे ।
विद्यार्थी उचाल्ने, नक्कली अडियो तयार गरी विश्वविद्यालयमा सुधार ल्याउन खोज्ने पदाधिकारीलाई हतोत्साही बनाउने प्रयासमा संलग्न त्यस्ता कुण्ठित मानसिकता भएकाहरुलाई सचेत रहन डाक्टर सिंहले चेतावनी समेत दिए ।