काठमाडौं । प्रतिनिधि सभा बैठकको शुन्य समयमा सांसदहरुले समसामयिक राजनीतिको सम्बन्धमा आफ्नो धारणा राखेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसदहरुले समसामयिक राजनीतिक तथा विभिन्न विषयमा आफ्नो धारणा राखेका हुन् ।
बैठकमा बोल्दै सांसद अभिषेक प्रताप शाहले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही दिन अघि सामाजिक सञ्जालमार्फत् हिन्दु विरोधी अभिव्यक्ति दिएको भन्दै त्यसप्रति आपत्ति प्रकट गरे । उनले आगामी दिनमा यस्तो टिप्पणी नआओस् भन्ने माग पनि गरेका छन् ।
यस्तै, सांसद आशाकुमारी वि.क.ले कोरोना कहरका कारण बालबालिकार किशोरकिशोरीको शिक्षा इन्टरनेटमार्फत् भएको भएपनि पब्जी र फ्रिफायर जस्ता खेलको लतमा परेर बच्चाहरुको स्वभावनै परिवर्तन भएको बताए । यसले अभिभावक समेत चिन्तामा रहेको उनले उल्लेख गरे । सांसद इन्दुकुमारी शर्माले नागरिकता नपाउँदा लाखौँ मानिस संविधानले प्रदान गरेको मौलिक हकबाट वञ्चित भएको भन्दै नागरिकता सम्बन्धी ऐन सर्वसम्मत् रुपले पास गराउन सरकार र सदनको ध्यानाकर्षण गराए ।
यस्तै, सांसद उमा रेग्मीले भौतिक मन्त्रालयमार्फत् हुने विकास निर्माणको काममा आर्थिक दुरुपयोग पनि हुने गरेको भन्दै आगामी दिनमा ५० लाखभन्दा कम रकमका योजनाहरु टेण्डरप्रक्रिया बिना नै सहज रुपले उपभोक्ता समितिमार्फत् काम गर्न दिनुपर्ने बताए । यसरी काम गर्न दिदाँ रकमको सदुपयोग हुने उनले बताए ।
यता, सांसद गगन कुमार थापाले वर्तमान सरकार र संसदसँग धेरै अपेक्षाहरु रहेको बताएका छन् । उनले नयाँ सरकारलाई कुनैपनि प्रकारको अपराध गर्ने छुट नरहेको बताए ।
संसद मनोमानी ढंगले छल्न र स्थगित गर्न नदिइने भन्दै उनले यसको लागि सभामुखको पनि परिक्षा हुने बताए ।
शुन्य समयमा बोल्दै अन्य सांसदहरुले सरकारले कोभिड–१९ विरुद्धको खोपलाई प्राथमिकतामा राखेर खोप दिने प्रक्रिया पनि अगाडी बढाउनुपर्ने बताउनुभयो भने समसामयिक विभिन्न विषयमा आ–आफ्नो धारणा राखेका थिए ।