काठमाडौं । राष्ट्रिय सभा सदस्य दिल कुमारी रावल थापा (पार्वती) ले जनताले अनुभूत हुने गरी वित्तिय संघीयता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आजको राष्ट्रिय सभाको शुन्य समयमा थापाले जनताले अनुभूत हुने गरी वित्तिय संघीयता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
राष्ट्रिय सभा सदस्य थापाले प्राकृतिक श्रोत सम्बन्धी एकीकृत कानून तत्काल निर्माण गर्न, एकल तथा साझा अधिकार सूची थप स्पष्टता पार्न, विशेष स्थानीय तहमा जाने विभिन्न प्रकारको अनुदान रकमलाई एकीकृत र नतिजामूखी बनाउने नीति निर्माण गरी कार्यान्वयनको व्यवस्था मिलाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
यस्तै, राष्ट्रिय सभा सदस्य नन्दा चपागाईंले राष्ट्रपति महिला उत्थान कार्यक्रम अत्यन्त उपयुक्त भएको बताएकाछन् । उनले गर्भवती महिलाहरुको उद्धारको बारेमा जटील अवस्था भएमा हवाइद्वारा उद्धार गर्न पाउने व्यवस्था प्रभावकारी भएको तर सिफारिस गर्ने प्रावधान झन्झिटिलो भएकोले सहज र सजिलो बनाउनका लागि सरकारलाई अनुरोध गरेका छन् ।
राष्ट्रिय सभा सदस्य प्रकाश पन्तले निर्मला पन्तको न्यायका लागि अनुसन्धानका फाइलहरु तत्काल खोल्न सरकारलाई ध्यानाकर्षण गराए । भीआईपीहरुको सुरक्षा व्यवस्थाको कुराले बजार तातेको भन्दै उनले मान्छेको मापदण्ड नभइ कानून हेरेर काम गर्न सुझाउनसभयो ।
कोरोनाले थलिएको सार्वजनिक यातायात क्षेत्रका व्यापारी, व्यवसायी तथा मजदुरहरुको समस्याहरुको सम्बोधन गर्न पनि उनले सुझाएका छन् ।
संघीयता कार्यान्वयन गर्न आवश्यक पर्ने कानून, संविधानको अनुसूची बमोजिमका कानूनहरु र प्रदेश र स्थानीय तहलाई आवश्यक पर्ने कानून आगामी आम निर्वाचन भन्दा अगावै गर्न उनले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।