काठमाडौं । नेपाली कांग्रेसले गठन गरेको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ।आज प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई समिति संयोजक रमेश लेखकले सदस्यता छानविन समितिको प्रतिवेदन बुझाएका हुन्।
८ लाख ५२ हजार क्रियाशील सदस्यताको विवरणसहितको प्रतिवेदन बुझाएपछि कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेता लेखकले भने, ‘हामीले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता नवीकरण र नयाँतर्फ ७५ जिल्लामा प्रवेश गरेर बुझाएका छौँ।’ समिति संयोजक लेखकले बारा र सप्तरीको क्रियाशील सदस्यता नवीकरण भएको तर नयाँ वितरण गरिएका क्रियाशील सदस्यता भने टुंगोमा पुग्न नसकेको जानकारी दिए ।
उनले भने, ‘बारा र सप्तरीमा नवीकरणको बारेमा टुंगो लगाएका छौँ। नयाँ क्रियाशीलको कागजात ढिलो प्राप्त भएकाले त्यो विषयमा प्रवेश गर्न सकेनौँ। धनुषा ४ नम्बर क्षेत्र र सर्लाही–२ मा टुंगोमा पुग्न नसकेकाले केन्द्रीय नेतृत्वलाई नै टुंगोमा पुग्न अनुरोध गरेका छौँ ।’
समितिले तयार गरेको प्रतिवेदनमा कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले फरक मत पेश गरेका छन् । तर विवाद भएका स्थानमा १३ औँ महाधिवेशनको क्रियाशील सदस्यताका आधारमा महाधिवेशन गर्ने निर्णय समितिले गरेको छ।
नेता लेखकले भने, ‘प्रतिवेदन केन्द्रीय नेतृत्वसमक्ष प्रस्तुत गरेका छौँ । केही ठाउँ, केही निर्वाचन क्षेत्र र वडामा विवाद थियो । विवाद भएका स्थानमा नवीकरणतर्फ कै क्रियाशील सदस्यताले अधिवेशन गर्ने हामीले निर्णय गरेका छौँ । समितिमा सहमतिमै निर्णय भएको छ।’
नेता लेखकले १३ औं महाधिवेशनमा ३३ वटा निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता टुंगोमा पुग्न नसकेको अवस्थामा अहिले भने केही स्थानमा मात्रै विवाद समाधान नभएको लेखकले जानकारी दिए।