काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अझै पनि अध्यक्ष केपी शर्मा ओलीले राजामहाराजाको शैली देखाइरहेको बताएका छन्। माधव पक्षीय नेता जगन्नाथ खतिवडा नेतृत्वको पुष्पलाल मित्रता केन्द्रले शुक्रबार ललितपुरमा गरेको प्रवचन कार्यक्रममा बोल्दै नेता नेपालले यसो भनेका हुन्।
'हिजो मात्रै राजामहाराजाको शैलीमा माधव नेपालसहितलाई आममाफी दिइन्छ भनेको सुनेँ। महाराजाधिराजबाट आदेश आयो, आममाफीको हामी खुसी भयौँ गदगद भयौँ ', ओलीप्रति कटाक्ष गर्दै नेपालले भने, 'मैले ठानेको थिएँ, स्पष्टीकरण सोध्नु गल्ती भयो, सँच्याए भन्लान्। यसो भन्दा कसैको 'हाइट' घट्थ्यो र?'
उनले ओली सुध्रिएलान् भनेर आफूले संयमता अपनाइरहेको पनि बताए। 'डोरी जल्यो तर गाँठो उस्ताको उस्तै छ', भने जस्तै म त मान्छे सुध्रिएलान् भनेर बस्छु, प्रवृत्ति उही छ', उनले भने, 'एकता होला भनेर आश गरेँ। हिजो पनि ख्याल गर्दै मिठो मिठो बोलेँ। ख्याल गरेर बोलिरहेको छु। जिब्रो हाडले छेकेको हुँदैन। जिब्रोले बोल्दिहाल्ला भन्यो, एउटा शब्द पनि तलमाथि नहोस् है भनेँ। तर उताबाट उही राजा महाराजाको शैलीमा आदेश आएछ।'
उनले आफूलाई डरत्रास देखाउन ओली पक्षले घर घेर्न मान्छे पठाएको पनि आरोप लगाए। 'माधव नेपालको घरको छेउमा मार मुङ्ग्रेहरु २५ जना बसेका थिए। यसो हेरेँ उपारखुट्टी लगाएर बसेका', उनले भने, 'कस्ता कस्ता कहाँ गए, यिनीहरु आएर माधव नेपाल तर्सिँदैन। म विशेष धातुले बनेको छु। म कुनै हालतमा डराउँदिनँ।'
उनले कम्युनिष्टहरू विशेष धातुले बनेका भएकाले कसैको धम्कीबाट नडराउने बताए। 'म विशेष धातुले बनेको छु, कसैसँग डराउँदिन। वादशाहलाई घोडामा झारियो तर सुध्रिएनन्', उनले ओलीप्रति लक्षित गर्दै भने, 'अहंकार कस्तो हुँदोरहेछ भने जति धैर्य गर्दा पनि उही शैली र उही तरिका देखियो।'
नेता नेपालले ओलीको स्वेच्छाचारी प्रवृत्ति र लोकतन्त्रविरोधी कार्यशैलीका कारण समस्या भएको बताए।