काठमाडौं । राज्य व्यवस्थापन तथा सुशासन समितिले विपद् व्यवस्थापनको कार्यलाई तीनै तहका सरकारहरूले आवश्यक समन्वय, साझेदारी र सहकार्य मार्फत् अघि बढाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको बिहीबार बसेको बैठकले विपद्को पूर्वानुमान, पूर्व तयारी, प्रविधि, शिक्षा, उपकरण, श्रोत र नियमित सक्रियताका साथ प्रभावकारी ढङ्गले अघि बढाउन गृह मन्त्रालयलाई निर्देशन दिएको सभापति शशी श्रेष्ठले बताइन् । विपद् जोखिम न्यूनीकरण गर्न आवश्यक व्यवस्था एवं पहल गर्न तीनै तहका सरकारहरूसँग समन्वय, साझेदारी र सहकार्य गर्न आवश्यक रहेको सभापति श्रेष्ठले बताइन् ।
साथै उनले विपद् व्यवस्थापनको कार्यलाई उच्च प्राथमिकतामा राखेर विपद् एवै जोखिमका सूचनाको पूर्वानुमान गर्न सक्ने यथार्थ तथ्याङ्क, सूचना,एवं जानकारी पारदर्शी रूपमा सबै नागरिकहरूले जुनसुकै बेला जहाँ र जहिले पनि प्राप्त गर्न सक्ने गरी आवश्यक प्रबन्ध गर्न गृह मन्त्रालयलाई समितिले निर्देशन दिएको छ।
समितिले विपद् व्यवस्थापनको कार्यक्रम सञ्चालन गर्दा सरकारी एवं गैरसरकारी पक्ष लगायत नागरिकहरुबीचको सहकार्य साझेदारी कायम गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भूमिकालाई साधन श्रोत, प्राविधिक एवं जनशक्तिको प्रबन्धसहित सशक्त र प्रभावकारी बनाउन आवश्यक व्यवस्था गर्न पनि निर्देशन दिएको पनि बताइन् । त्यस्तै बैठकले नेपाल सरकारबाट घोषणा गरिएका मनाङ र सिन्धुपाल्चोक जिल्लाका विपद् ग्रस्त क्षेत्रहरूलाई विपद् व्यवस्थापनको नमुना क्षेत्रको रूपमा विकास गर्न पनि निर्देशन दिएको छ।
अहिलेको विपद्बाट क्षतिग्रस्त भएको मनाङ र सिन्धुपाल्चोक र दार्चुला लगायत अन्य जिल्ला तथा क्षेत्रहरूमा अवरुद्ध भएका स्थानीय पूर्वाधारहरू शीघ्र मर्मत तथा सुचारु गरी सम्बद्ध निकायहरूबिच समन्वय गर्दै राहत र उद्धार क्षतिपूर्ति गर्ने र (एकीकृत बस्ती) सुरक्षित स्थानमा बस्ती स्थानान्तरणलाई उच्च प्राथमिकता दिँदै उच्च तदारुकताका साथ विपद् जोखिम न्यूनीकरणको कार्यलाई अघि बढाउने र समितिले यसअघि दिएका निर्देशनहरू कार्यान्वयन भए नभएको अनुगमन गर्न निर्देशन दिएको पनि सभापति श्रेष्ठले बताइन् ।