काठमाडौ । पुराना राजनीतिज्ञ एवं पूर्वमन्त्री राधाकृष्ण मैनालीले अहिलेको सरकार र समिकरण अन्ततः मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पासोमा फस्ने भविष्यवाणी गरेका छन् ।
शेरवहादुर देउवाकै अग्रसरतामा अमेरिकी सहायता परियोजनासंग सम्झौता भएको र सोही सम्झौतामा हस्ताक्षर गर्ने तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अहिले कानुन मन्त्रि बनेको दृष्टान्तसहित नेता मैनालीले एमसीसी संसदबाट अनुमोदन हुनेमा आशंका व्यक्त गरे ।
क्यापिटल एफ.एमको नियमित कार्यक्रम सीधा कुरासंगको संवादमा नेता मैनालीले, संसदबाट एमसीसी पारित गर्दा राष्ट्रियताको प्रश्न उठ्ने र छिमेकी मुलुक भारत र चीन हच्किने दावीसहित उक्त सम्झौता पारित नगरे सम्झौताकर्ता नायकहरु अमेरिकी दवावमा पर्ने बताए ।
पछिल्लो राजनीतिक घटनाक्रमका सन्दर्भमा उनले संसदीय व्यवस्थाले मुलुकलाई निकास दिन नसक्ने जिकिर गरे । २०४६ सालको राजनीतिक परिवर्तन पछिका ३२ बर्ष केहि दलका केहि नेता बेईमान र आत्मा केन्द्रित भएकै कारण अफापसिद्ध बनेको नेता मैनालीको निष्कर्ष छ ।
कार्यक्रम सीधा कुरासंगको संवादमा नेता मैनालीले अेहिले नेकपा एमालेभित्र चर्केको विवाद सिद्धान्तको नभई, देश लुट्ने र भ्रष्टाचार गर्ने विषयमा बढी जोडीएको दावी गरे । एमाले अध्यक्ष केपी शर्मा ओली सत्तामा पुगेपछि आफ्नै सानो घेराभित्र रमाएर कुर्ची छाड्नै नचाहे पछि माधव नेपालहरुले ओली प्रवृतिविरुद्ध प्रतिक्रिया जनाउंदा पुरै संसदीय राजनीतिको मर्यादा नै स्खलीत बनेको नेता मैनालीको दावी छ ।
उनले अहिले शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि मुलुकमा राम्रो काम हुन्छ र जनताले सरकार परिवर्तनको अनुभूति गर्न पाउँछन् भन्ने अपेक्षा नगर्न पनि आह्वान गरे । पटक-पटक परीक्षण भइसकेको र सरकार चलाएर बद्नाम बनिसकेको व्यक्ति र प्रवृतिबाट सकरात्मक कामको अपेक्षा गर्नु नै गलत् रहेको मैनालीले दावी गरे ।
नेपाली कांग्रेस पछिल्लो ३२ बर्षमा २० वर्ष त सत्तामै रहेको दृष्टान्तसहित पुराना वामपन्थि नेता मैनालीले–अहिले पनि कांग्रेस नेतृत्वको सरकार उहि पुरानै भ्रष्टाचार, संस्थानहरुको नीजिकरण र बद्नियतपूर्ण काममा अल्मलिने विश्लेषण गरे । नेता राधाकृष्ण मैनालीसंगको विस्तृत कुराकानी सुन्न क्यापिटल एफएमको आधिकारीक वेभसाईटमा जानुहोला ।