काठमाडौ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा पुनस्र्थापित भएकोमा प्रतिनिधि सभा सदस्यहरुलाई बधाई दिएका छन् ।
आइतबारको प्रतिनिधि सभाको पहिलो बैठकमा संक्षिप्त आफ्नो धारणा राख्ने क्रममा सभामुख सापकोटाले प्रतिनिधि सभा पुनस्र्थापना भएकोमा सबै प्रतिनिधि सभा सदस्यहरुलाई बधाई व्यक्त गरेका हुन् । उनले प्रतिनिधि सभा पुनस्र्थापित गर्न भुमिका खोल्नुहुने अन्य सबै क्षेत्रका व्यक्तिहरलाई पनि धन्यवाद ज्ञापन गरेका छन् ।
उनले भने, ‘सार्वभौमसत्ता र लोकतन्त्रको अभ्यास गर्ने सर्वोच्च जनप्रतिनिधि संस्था प्रतिनिधि सभा पुनस्र्थापित भएको यस गौरवपूर्ण अवसरमा सम्पूर्ण माननीय सदस्यहरुलाई वधाई दिदै हार्दिक स्वागत गर्न चाहन्छु । यो सभाको सार्वभौम अधिकारलाई पुनः स्थापित गर्न आफ्नो तर्फबाट योगदान पुर्याउने राजनीतिक दल, प्रबुद्धवर्ग, सञ्चार जगत, नागरिक समाज एवं आम जनसमुदायलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’
उनले प्रतिनिधि सभालाई संविधानको मर्म र भावना अनुरुप पुनस्र्थापना गरिदिएकोमा सर्वोच्च अदालतप्रति पनि आभार प्रकट गरेका छन् । उनले भने ‘यस अवसरमा संविधान सभाबाट निर्मित संविधानको मर्म र भावना एवं लोकतन्त्रको सार्वभौम मान्यता अनुसार प्रतिनिधि सभालाई पुनस्र्थापना गर्ने ऐतिहासिक फैसलाका लागि सम्मानित सर्बोच्च अदालतप्रति आभार प्रकट गर्न चाहन्छु ।’
सभामुख सापकोटाले प्रतिनिधि सभा पुनस्र्थापित भएसँगै शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त विपरीत चालिएको कदम असफल भएको पनि बताए ।
सभामुख सापकोटाले आगामी दिनमा सहमति, समझदारी र सहकार्यमा आधारित राजनीतिक संस्कृतिको विकास र विस्तार गर्नुपर्ने अभिभारा रहेको पनि बताए ।