काठमाडौँ– दोस्रो पटक पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक शुरू भएको छ । अपराह्न ४ बजे बस्ने कार्यक्रम तय भएपनि करिब ४५ मिनेट ढिला गरी बैठक शुरू भएको हो । संसदको आठौँ अधिवेशनमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् ।
यस्तै सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ । सम्भावित कार्यसूचीअनुसार सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यक्रम रहेको छ ।
असार २८ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो। आजको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत समेत लिँदैछन्।