काठमाडौं । काठमाडौं उपत्यकामा साउन १० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।
पछिल्लो पटक थपिएको निषेधाज्ञा बिहीबार रातिदेखि सकिँदैछ । बिहीबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा साउन १० गतेसम्म लम्ब्याउने निर्णय गरेको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
उनले अत्यावश्यक कामले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा नीजि सवारी साधनलाई आवत् जावत् गर्न दिइने जानकारी दिए । साथै लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालन गर्नका लागि सिसिएमसीलाई सिफारिस गरिएको पनि उनले जानकारी दिए ।
उनले भने,‘त्रिभुवन विश्वविद्यालय, लोकसेवा आयोगले परीक्षाका कार्यक्रमहरु सञ्चालन गर्ने सूचना निकालेको हुँदा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने सम्बन्धमा सिसीएमसीमा अनुरोध गरेका छौँ । सिसीएमसीमार्फत् नेपाल सरकारबाट निर्णय भएपछि लामो दूरी र मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालन सम्बन्धी निर्णय हुन्छ ।’
उपत्यकामा सभा, समारोह गर्न अझै रोक लगाइएको छ । त्यस्तै पार्टी प्यालेस, डान्सबार, नाचघर, स्वीमिङ पुल, शैलुन, ब्युटी पार्लर, हेल्थक्लव, फुटसल, जिमखाना, शैक्षिक संस्थाहरु भने अझै बन्द रहने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए । उनले पसलहरु बेलुकी ७ बजेसम्म खोल्न दिइने पनि जानकारी दिए ।