काठमाडौं । राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले संसदको आगामी अधिवेशनले अत्यावश्यक विधेयकहरुलाई प्राथमिकताका साथमा पास गर्नुपर्ने बताएका छन् ।
सरकारले साउन ३ गते संसदको अधिवेशन आव्हान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको सन्दर्भमा सञ्चारकर्मीसंग कुरा गर्दै राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले संसदमा विभिन्न अध्यादेशहरु पास गर्नुपर्ने ठाउँमा अड्किएर बसेको भन्दै संसदको प्राथमिकता ति अध्यादेशहरुलाई पास गर्ने रहेको बताएका हुन् ।
उनले ३० दिनभित्र सरकारले विश्वासको मत लिने विषयपनि प्राथमिकतामै रहेको पनि बताए ।
त्यस्तै कोभिड –१९,बाढीपहिरोको क्षति लगायतका समसामयिक विषयमा पनि संसदमा प्राथमिकताका साथ छलफल गरिनुपर्ने उनले बताए । सरकारले संसद अधिवेशन आव्हान गरेसँगै संसदमा विचाराधिन अवस्थामा रहेका ३७ वटा विधेयकले पुर्नजिवन पाउने भएका छन् । सरकारले दुई÷दुई पटक प्रतिनिधि सभा विघटन गरेसँगै प्रतिनिधि सभाको विभिन्न समितिमा विचाराधिन महत्वपूर्ण विधेयकहरु निस्क्रिय भएका थिए ।
असार २८ गते सर्वोच्च अदालतले दोस्रो पटक प्रतिनिधि सभाको पुर्नस्थापना गर्दै साउन ३ गते साँझ ५ बजेसम्म प्रतिनिधि सभाको बैठक आव्हान गर्न फैसला गरेसँगै निष्क्रिय भएका विधेयकहरुले जिवन्तता पाउने भएका हुन् । संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभामा ३७ वटा विधेयक र राष्ट्रिय सभामा १९ वटा विधेयक विचाराधिन अवस्थामा रहेको छ ।
संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले कतिपय विधेयकहरु समितिमा लामो समय विवादित भएर बसेकोले प्रतिवेदन सदनमा पेश हुन नसकेको बताए । अघिल्लो सरकारले प्रतिनिधि सभा विघटन गरेको अवस्थामा सहजताका साथ दुवै सदनको बैठक बस्न नसक्दा र सरकारले प्राथमिकताका साथ विधेयकहरु पेश नगरेका कारण विधेयकहरुका बारेमा छलफल हुन नसकेको उहाँले बताए ।
उनले लामो समयदेखि विधेयकहरु कानुन बन्न नसक्दा जनताले समस्या भोग्नु परेको तथा संविधान कार्यान्वयनका लागि समेत समस्या देखिएको भन्दै महत्वपूर्ण विधेयकहरु सरकारले अबको संसद बैठकमा पेश हुने विश्वास व्यक्त गरे ।
प्रवक्ता पाण्डेले प्रतिनिधि सभाको बैठक अथवा दुवै सदनको बैठकका लागि सचिवालयले तयारी पुरा गरेको पनि जानकारी दिएका छन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई आज एन्टीजेन परिक्षण गरेका छन् ।