काठमाडौ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख धरौटीमा रिहा भएका छन् ।
ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारसहित १७५ जनालाई मुद्दा दायर गरेको थियो ।
पटक – पटक अदालतको म्याद बुझ्न अस्वीकार गरेका गच्छदार बुधबार विशेष अदालतमा उपस्थित भएर बयान दिएका हुन् । बयान पछि १० लाख रुपैयाँ धरौटी बुझाएर गच्छदार रिहा भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले बताए ।
उनले भने, ‘तत्काल प्राप्त प्रमाणका आधारमा यी प्रतिवादीको हकमा विशेष अदालत ऐन २०५९ को दफा ७(घ) बमोजिमको अवस्था विद्यमान रहेको देखिदाँ पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुनेगरी हाललाई यी प्रतिवादीसँग रु १० लाख नगद वा सो बराबरको बैंक ग्यारेन्टी माग गरिएको छ । उल्लेखित धरौटी वा बैंक ग्यारेन्टी लिई निजलाई तारिखमा राख्न र सो दिन नसके नियमानुसार थुनामा राख्नुहुन सम्बन्धित कारागार कार्यालयमा लेखी पठाउनु यति आज आदेश भएको छ । उहाँले १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा हुँदै हुनुहुन्छ ।’
धरौटी बुझाएर रिहा भएसँगै कांग्रेस उपसभापति गच्छदारले आफुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिशोधपूर्ण अभियोग लगाएको बताए ।
आफू रुल अफ ल र लोकतान्त्रिक पद्धतिको लागि लडेको मान्छे भएको भन्दै उनले विशेष अदालतको निर्णयलाई सम्मान गर्ने बताए ।
उनले भने, ‘अख्तियार अनुसन्धान आयोगको म माथिको अभियोगपत्र दुराग्रह, पूर्वाग्रहपूर्ण रुपले, प्रतिशोधपूर्ण अभियोग पत्र म माथि लगाइएको हो । तर विशेष अदालतमा मुद्दा दर्ता गरेको हुनाले म न्याय माथि विश्वास गर्ने मान्छे । न्यायालयको न्यायप्रति विश्वास भएको मान्छे, रुल अफ ल को लागि म लडेको मान्छे, जनताको अधिकार, लोकतान्त्रिक पद्धतीको लागि लडेको मान्छे । त्यसकारण विशेष अदालतमा मुद्दा दर्ता भएपछि म आज उपस्थित हुन आएको । विशेष अदालतले जे निर्णय आज गरेको छ । त्यसप्रति सम्मान व्यक्त गर्न चाहान्छु ।’
उपसभापति गच्छदारले छिट्टै पत्रकार सम्मेलन गरेर आफ्नो धारणाहरु सार्वजनिक गर्ने पनि बताए । ।
गच्छदारलाई २०६६ सालमा भौतिक योजना तथा निर्माण मन्त्री रहेको बखत बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी जग्गा व्यक्तिको नाममा पास गरिदिई भ्रष्टाचार गरेको आरोप लागेको छ । गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ साल माघ २२ गते उनीसहित १७५ जनालाई मुद्दा दायर गरेको थियो ।