काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग जनादेश भएपनि सर्वोच्च अदालतको परमादेशका कारण सरकारको जिम्मेबारीबाट विदा लिएको बताएका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन लाई पुनर्स्थापित गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्न परमादेश जारी गरेपछि मंगलबार सिंहदरबारबाट विदाई सम्बोधन गर्दे ओलीले जनादेश आफूसँग भएपनि सर्वोच्चको परमादेशका कारण बाहिरिनु परेको बताएका हुन् ।
उनले भने, ‘आज फेरि जनताको जनादेशले होइन सर्वोच्चको परमादेशका कारण मैले सरकारको जिम्मेवारीबाट विदा लिँदैछु । जनताको जनादेश त मेरो पक्षमा थियो । सर्वोच्च को परमादेश शेरबहादुर देउवा जीको पक्षमा भयो ।’
निवर्तमान प्रधानमन्त्री ओलीले अदालतको फैसला आफूहरुको विरुद्ध र संवैधानिक हिसाबले अनूचित भएपनि संविधानको सर्वोच्चता र विधिको शासनमा विश्वास गर्ने पार्टी भएका हैसियतले फैसलाको पालना गर्ने बिषयमा पार्टी स्पष्ट रहेको बताए ।
उनले भने, ‘प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा आधारित भएर सर्वोच्च अदालतबाट जे जस्ता फैसलाहरु गरिएका छन् । तीनका असर मुलुकको लोकतान्त्रिक प्रणाली, दलिय राजनीतिमा लामो समयसम्म रहिरहनेछन् । लोकतन्त्रको रक्षा विकास र सुदृढीकरणमा यी फैसलाहरु सहयोगी रहे कि असहयोगी ? यीनले राजनीतिक स्थायीत्वलाई बल पुराए कि क्षति ? यसबाट दलिय व्यवस्था बलियो भयो कि कमजोर ? समग्रमा राजनीतिलाई यो फैसलाले अग्रगामी दिशा दिए कि पछाडी फर्काए ? यसको समीक्षा भविष्यले गर्नेछ । समयले आफ्नो कसीमा घोटेर यीनको औचित्यबारे अग्नि परीक्षा लिँदै जानेछ । तर संविधानको सर्वोच्चता र विधिको शासनमा विश्वास गर्ने पार्टी भएका हैसियतले फैसलाको पालना गर्ने विषयमा पार्टी स्पष्ट रहेको कुरा म जानकारी गराउन चाहन्छु ।’
आफूहरुको चासो र चिन्ता संविधानको रक्षा र सुदृढीकरणमा तथा बहुलवादमा आधारित बहुदलिय प्रतिष्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीको भविष्य प्रति भएको भन्दै उनले फैसलाका कतिपय भाषा शैलीले लोकतन्त्रप्रति आस्था राख्नेलाई चिन्तित बनाएको बताए । उनले ताजा जनादेशका लागि जनतामा जाने निर्णयलाई निरंकुश र कानुनको अपव्याख्यामाथि आधारित भएर दलिय प्रणालीको आधाभूत संरचना भत्काएर सरकार बन्ने बनाउने कुरालाई लोकतान्त्रिक भनेर गरिने परिभाषाले लोकतान्त्रिक प्रणालीलाई गलत दिशातर्फ धकेल्न सक्छ भन्ने तर्फ आफूहरु गम्भीर र चिन्तित भएको बताए ।
लोकतन्त्रको आधार स्तम्भका रुपमा रहेका राज्यका तीनवटा अंग बीचको सन्तुलन सर्वोच्चको फैसलासँगै नराम्रोसँग खलबलिन पुगेको टिप्पणी उनले गरे । फैसलाले क्षणिक रुपमा कसैलाई खुसी र हर्ष दिएपनि लोकतन्त्रको मूल्यमा प्राप्त विजय क्षण भंगुर र अर्थहीन हुँदैजाने दाबी उनले गरे ।
उनले राजनीतिक कुराहरुको फैसला गर्ने मुख्य जिम्मेवारी दलहरुको भएको भन्दै त्यसमा न्यायलयले हात हाल्दा जोखिम निम्तने टिप्पणी गरे ।
उनले भने, ‘राजनीतिक कुराहरुको फैसला गर्ने मुख्य जिम्मेबारी दलहरुको हो । त्यसैले राजनीतिक प्रश्न जोडिएको मुद्दामा अदालतको अधिकतम संयमताको अपेक्षा गरिन्छ । अत्याधिक न्यायीक सक्रियता मार्फत प्रत्येक विषयमा हात हालेर, अझै कहिले कहिले त सन्दर्भ नै नभएका माग नै नगरिएका विषयहरुसम्म अगाडि बढेर, न गन्तव्यमा पुग्न सकिन्छ न त त्यति ठूलो भारी बोक्ने सामर्थ यस्तो निकायमा हुने हुन्छ । खेल खेल्ने जिम्मेबारी खेलाडीहरुको हो । तर रेफ्रि स्वयम्मा गोल गर्ने वा खास पक्षलाई जिताउने इच्छा जागृत भयो भने त्यसले जोखिम निम्त्याउँछ ।’
आफ्ना विरुद्ध विभिन्न हल्ला फैलाईएको भन्दै उनले आफूले अनुचित र अराजनीतिक हतकण्डा अपनाएर केही नगर्ने स्पष्ट पारे । उनले लोकतन्त्रका लागि लड्दै आएको मान्छेमाथि नै कन्सिट्युसनल मोरालिटीको प्रश्न उठाएको गुनासो पनि गरे ।
उनले भने, ‘कन्सिट्युसनल मोरालिटीको कुरा म माथि उठाइयो । कन्सिट्युसनल मोरालिटीको मापदण्ड कुन चाहिँ न्याय निरुपणको लागि ममाथि कन्सिट्युसनल मोरालिटीको कुरा उठाएको हो मलाई नै थाहा छैन । देशको सार्वभौमसत्ता, स्वाधिनता, भौगोलिक अखण्डता, विकास, सुशासन, सामाजिक न्याय र समानजता सहितको समृद्ध नेपाल र सुखी नेपाली बनाउन सकियोस् भन्नका लागि लोकतान्त्रिक प्रणाली चाहिन्छ । इमान्दार अठोट चाहिन्छ । त्यो बाहेक मेरो मनमष्तिस्कमा कहिलेही पनि केही रहेन ।’
उनले लोकतन्त्रविरुद्ध गम्भीर षडयन्त्र गरिएकाले आफुलाई समयमै निर्वाचन हुनेमा पनि शंका लागेको बताए ।
उनले भने, ‘एउटा गम्भीर षडयन्त्र लोकतन्त्रका विरुद्ध भईरहेको छ । राष्ट्रिय एकताको आश्यकता थियो । विकास निर्माणमा एकताको आवश्यकता थियो । हिजोको फैसला कतिले ऐतिहासिक भने । पछिसम्म कालान्तर सम्मसम्झिईने छ । यसको समिक्षा देशले गर्नेछ । कस्तो ऐतिहासिक त्यो पछि इतिहासले बताउला । आजको राष्ट्रिय सार्वभौमसत्ता र स्वाधिनतालाई सवल बनाउदै जानुपर्ने आवश्यकता थियो । आजको राजनीतिक विपरित दिशामा लान खोजिदै छ । बाँकी अवधि संसद चलोस् । समयमा निर्वाचन होस् तर मलाई शंका छ । ’
उनले वर्तमान सरकारले देश र देशबासीको हितमा काम गरेकाले ढलाईएको दाबी गरे ।
उनले भने, ‘नेकपा एमालेको सरकार ढलाईयो । किन ढलाईयो । यो सरकारले देशको सार्वभौमसत्ताको पक्षमा दृढताका साथ कम गर्यो । अरु त कुनै कारण छैन । जनताकोबीचमा जान आँट नहुने । अदालतबाट प्रधानमन्त्री नियुक्त ? करेसाबारीको झगडा हो यो ? गजब छ बा । प्रधानमन्त्री हटाइयो । प्रधानन्त्री तोकियो । इतिहासको कडीमा परिक्षित हुन त बाँकी नै छ । ”
उहाँले पार्टी भित्रैबाट आफूलाई असहयोग भएको र अपवित्र गठबन्धन बनाई सरकार ढाल्ने खेल भएको र तीनै क्रियाकलापका कारण मुलुक वर्तमान अवस्थामा आईपुगेको टिप्पणी गरे ।
उनले भने, ‘सरकार ढाल्न बाहिरबाट प्रयास भयो र अपवित्र गठबन्धन गराईयो, नेकपा एमालेको पार्टी फुटाईयो । कहिले तृप्त नहुने महत्वकांक्षाले पार्टी भित्र भयंकर अस्वस्थता पैदा भयो । निर्वाचित नेतालाई दलको नेताबाट हटाउने र अध्यक्षबाट हटाउने काम भयो । आफ्नो पार्टीको सरकार ढाल्ने र प्रमुख प्रतिपक्षीलाई सरकाको नेतृत्व दिनुपर्छ भन्ने अनुशासनहीन र अराजक कामहरु भए । पार्टीमा अन्तरघात गर्ने, आफू गोलरक्षक हुनुपर्नेमा पोष्ट खाली गरिदिन्छ । यस्ता क्रियाकलापका कारण देश आजको अवस्थामा पुगेको हो ।’
उनले अदालतको फैसला पछि आफु सरकारबाट बाहिरिएपनि लोकतन्त्रको रक्षा र सुदृढीकरणकाको पक्षा खबरदारी गरिरहने बताए । संविधानलाई संकटतिर धकेल्ने प्रयासका विरुद्ध चट्टान भएर उभिने भन्दै उनले केही समयका लागि देखिएको बादललाई हटाउदै सूर्य उदाउने उद्घोष गरे ।
उनले भने, ‘लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि हामी २४ सै घण्टा सजग भएर अब पनि खडा हुनेछौ । थालिएका अग्रगामी कदमहरुको निरन्तरताका लागि खबरदारी गरिरहनेछौ । मुलुकलाई अस्थिरतातिर, अर्थतन्त्रलाई ओरालोदिशातिर, जनतालाई अन्धकारतिर र संविधानलाई संकट तिर धकेल्ने प्रयासका विरुद्ध हामी चट्टान भएर उभिनेछौ । मेरो पुर्ण विश्वास छ मुलुकले सुरु गरेको अग्रगमनको यात्रा कसैले पनि विथोल्न सक्नेछैन र हामी त्यो विथोल्न दिने पनि छैनौ । वादलले एकछिन अध्याँरो पार्न सक्ला घामलाई छेक्न सक्ला तर सूर्यको प्रकाशलाई कसैले पनि निष्तेज पार्न सक्क्तैन । नेपाललाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउने महान अभियानमा म र मेरो पार्टी सधैंभरि अग्रमोर्चामा डटीरहनेछौ । एकछिन बादल लागेको छ । फेरी सूर्य बादल हटाएर उदाउनेछ ।’
उनले कोभिड १९ विरुद्धको खोपको वर्तमान स्थितिबारे जानकारी दिँदै प्रतिकूल अवस्थामा पनि सरकारले महामारीविरुद्ध प्रभावकारी लडाइँ गरेको दाबी गरे ।
उनले भने, ‘हुन त भोलिदेखि भनिने छ कि, ल्याईदिएको खोप लगाएर, अघिल्लो सरकार गयो हामीले खोप दिन थाल्यौ भनेर तमासा सुरु हुनेछ । मलाई प्रचारको कम्पिटिसन गर्नुछैन ।’
सरकारले संविधानको कार्यान्वयन, राष्ट्रियताको रक्षा र सुशासनका क्षेत्रमा दूरगामी महत्वका काम सम्पन्न गरेको तथा संघीयतालाई संस्थागत र सुदृढीकरण गरेको बताए । उनले सिके राउत र विप्लबसँग भएको सहमति सम्झौतालाई पनि सरकारको महत्वपूर्ण उपलब्धीको रुपमा रहेको दाबी गरे । उनले संविधानसंग असहमत सबै समूह संविधानको समर्थनमा आइसकेको बताए । बाढी पहिरो प्रभावितको उद्धार तथा राहत वितरणमा पनि सरकारले उल्लेखनीय काम गरेको दाबी प्रधानमन्त्री ओलीले गरे ।