काठमाडौं । विपक्षी गठबन्धनले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक र महत्वपूर्ण फैसला भएको भन्दै सर्वोच्च अदालतलाई धन्यवाद दिएको छ ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वस्थित निवासमा बसेको ५ दलीय विपक्षी गठबन्धनको बैठकले लोकतन्त्र, संविधान र संसदको रक्षा गर्ने सवालमा अदालतको फैसला ऐतिहासिक र महत्वपूर्ण भएको भन्दै स्वागत गरेको छ । फैसलाले संविधानको रक्षा गरेकाले अदालतको ऐतिहासिक निर्णय सबै नागरिकको बिजय भएको निष्कर्ष पनि गठबन्धनले निकालेको छ ।
बैठक पछि नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले बैठकमा संविधान, लोकतन्त्र र संसदको रक्षाका लागि सर्वोच्चले गरेको आदेश ऐतिहासिक भएको भन्दै स्वागत गरिएको र यसमा सहयोग पुराउनेलाई धन्यवाद पनि दिएको बताए ।
त्यसैगरी पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने र सबै दलहरु मिलेर अघि बढ्ने बारे छलफल भएको खाँडले बताए ।
नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले बैठकमा दलीय प्रणालीका आधारमा सहमति र सहकार्य गर्दै संविधानले मार्गचित्र गरे अनुसार अगाडि बढ्ने बारेमा छलफल भएको बताए । लोकतन्त्रको रक्षा, संविधानको रक्षा, गणतन्त्र र नागरिक अधिकारको रक्षाका लागि आएको फैसलाको स्वागत गर्दे सबैलाई आभार प्रकट गरिएको गुरुङले बताए ।
नेता नेपाल पक्षका एमाले नेता रघुजी पन्तले सर्वोच्चको आदेश सँगै नयाँ परिस्थिति श्रृजना भएको भन्दै परिवर्तित अवस्था बुझ्न नेताहरुलाई आग्रह गरेको जानकारी दिए । उनले एकलौटी र एकपक्षीय ढंगले चल्ने कुराको सधै विपक्षमा रहदै आएको भन्दै सबैलाई समेटेर अगाडि बढ्न र एकलौटी ढंगले नचल्न आग्रह गरेको जानकारी दिए ।
जनता समाजवादी पार्टी नेपालका नेता बाबुराम भट्टराईले सर्वोच्चले प्रतिगमनकारी हर्कतलाई रोक्ने र देशलाई सही बाटोमा ल्याउने काम गरेको बताए । उनले देउवाको नेतृत्वमा सरकार बनाउन लागि पर्ने र गठबन्धनको सरकारलाई प्रभावकारी कसरी बनाउने भन्नेबारेमा पनि तयारी गरेर सहमति कायम गरि अघि बढ्ने बारे गठबन्धनमा छलफल भएको बताए ।