काठमाडौं । सरकारको विरुद्धमा प्रतिपक्षले घेराबन्दी गरेको भन्दै एमाले भातृ संगठन राष्ट्रिय युवा संघले राजधानीमा सडक प्रदर्शन गरेको छ ।
कोरोना महामारीको परबाह नगरी गरिएको उक्त जुलुसपछिको कोण सभामा संघका अध्यक्ष किरण पौडेलले सरकारविरुद्ध गिद्देदृष्टि लगाउनेहरुलाई मैदानबाटै जवाफ फर्काउने चेतावनी दिए ।
उनले सरकारलाई चौतर्फी रुपमा घेरावन्दी गर्दै विपक्षी गठबन्धनले राष्ट्रघाती तथा जनघाती गतिविधिहरु गरिरहेको उल्लेख गर्दैै त्यस प्रकारका गतिविधिलाई ध्वस्त बनाउने समेत बताए ।
नेपालको इतिहास तीन पटक मात्र नेपालको नक्सा परिवर्तन भएको उल्लेख गर्दै अध्यक्ष पौडेलले पृथ्वी नारायण, जंगबहादुर पछि वर्तमान केपी शर्मा ओलीले चुच्चे नक्सा जारी गरी नेपालको इतिहासमा ऐतिहासिक कार्य गर्नुभएको दाबी गरे ।
पौडेलले भने, ‘नेपालको राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधीनतालाई साम्राज्यवादी तथा पुँजीवादीहरुको गठबन्धन सक्रिय बनेको छ । मुलुकको रक्षाको निम्ति दुई थोपा रगत रहुन्जेल संघले लडिरहने छ । कसैले हल्लाउन सक्नेवाला छैन । नेपालको राष्ट्रियता माथि गिद्देदृष्टि लगाउनेलाई सडकबाट नै जस्ताको त्यस्तै जवाफ दिनेछौं ।’
कार्यक्रममा बोल्दै संघका पूर्व अध्यक्ष बचनबहादुर सिंहले न्यायपालिकामाथि जनताको विश्वासलाई कायम गराउन सचेत गराउँदै प्रचण्ड, शेरबहादुर देउवाले बोलेको कुरा जस्ताको त्यस्तै फैसला आउनुमा गम्भीर प्रश्न चिन्ह खडा भएको बताए ।
नेपालको वदलिँदो राजनीति परिस्थिती तथा अवस्थालाई मूल्याङ्कन गर्दै संविधानको रक्षा, वर्तमान सरकार र नेकपा एमालेविरुद्धको घेरावन्दी, विपक्षी गठबन्धनको असंवैधानिक र राष्ट्रघाती कदमको विरुद्ध सडक प्रदर्शन गरेको संघले जनाएको छ ।
कार्यक्रममा सहभागी युवाहरुले विभिन्न नारासहित सडकमै सांगितिक कार्यक्रम समेत गरेका थिए ।

