काठमाण्डौ । त्रिमूल नेपाल पार्टीका अध्यक्ष भरत दाहालले दलहरु राजनीतिक आवरणमा विदेशीहरुको गोटी बनेको आरोप लगाएका छन् ।
क्यापिटल एफ.एमको नियमित कार्यक्रम सिधा कुरामा बोल्दै दाहालले प्रजातन्त्र र कम्युनिष्टहरुको खोल ओडेकाहरुले अहिले विदेशी दलालहरुको काम गरेको आरोप लगाए । उनले भने, ‘पार्टीहरु प्रजातन्त्रका र कम्युनिष्टहरुका खोल ओडेर यहाँका विदेशी दलाल तथा अपराधी गतिविधिहरुमा संलग्न भएको देखेपछि २०६५ सालदेखि म छुट्टै बसेर छलफल अगाडि बढाएको थिएँ ।’
दाहालले अहिलेको समस्या भनेको दल, व्यक्ति वा सिस्टम के हो ? त्यसको जरोसम्म नपुगी समाधान गर्न नसकिने बताए । उनले भने, ‘अहिले दल, व्यक्ति वा सिस्टम मध्येको के समस्या हो त्यसको जरोसम्म नपुगीकन हामी निरन्तर एउटा गलत मान्छेहरुको गोलचक्करमा फस्यौ नि । कहिले यो पार्टी कहिले त्यो पार्टी, कहिले यो व्यक्ति कहिले त्यो व्यक्ति ? भनेर हिड्यौं, त्यसले हामीलाई कहिँपनि पुर्याउन सकेन ।’
मुलुक दिनानुदिन राजनीतिक गोलचक्करमा फस्दै गएको बताउँदै दाहालले यसबाट कसरी जोगाउन सकिन्छ भन्ने अभियान अगाडि बढाउनकै लागि आफूहरु लागिपरेको समेत बताए ।
यदि राजनीति गर्ने व्यक्तिहरु इमान्दार हुने हो भने मुलुकको कायापलट गर्न कुनै समस्या नभएको दाहालको तर्क छ । उनले भने, ‘हामीसँग दुई चार बर्षमा नै कायापलट गर्ने आधारहरु छन् । त्यसलाई कार्यान्वयन गर्नको निम्ति पनि मुलुक र जनताका लागि इमान्दार पार्टी चाहियो ।’
नेपालमा दरबार हत्याकाण्ड पछि १२ बुँदे सहमति गरेर नेपालाई नव औपनेशिकवाद तर्फ लगिएको दाहालले बताए । विदेशीको आडमा गरिएको १२ बुँदे सहमतिका कारण नेपालको सम्पूर्ण शक्ति विदेशको हातमा पुगेको उनले बताए ।
दलहरुले विभिन्न बाहनामा मुलुकलाई विभाजित गर्ने काम भएको आरोप लगाउँदै दाहालले संघीयता, धर्मनिरप्रेक्ष्यता, जातियता, आधारमा देश विभाजित गर्ने खेल हुनु विडम्बनापूर्ण अवस्था भएको बताए । उनले भने, ‘संघीयता, धर्मनिरप्रेक्ष्यता, जातियता र भूगोलका आधारमा नेपाललाई विभाजित गरी मुलुकनै विगठित गर्नेतर्फ राजनीतिक दलहरु लागिपरेका छन् ।’