काठमाडौं । काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (एमाले) कार्यदलको बैठकले पार्टी एकतावद्धरुपले अघि बढाउने गरी १० बुँदे सहमति गरेको छ । यो सहमतिलाई आज बोलाइएको स्थायी कमिटीको बैठक अनुमोदन गर्ने नेताहरुले बताएका छन् ।
दुबै पक्षका नेताहरु रहेको कार्यदलले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा र सरकारबारे पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णय अनुसार अगाडि बढ्ने सहमति गरेको छ ।
वादल समूहलाई स्वागत, केन्द्रीय कमिटीमा थप मनोनयन
कार्यदलले जेठ २ मा फर्किने सहमति गरेको छ । तर पार्टी एकता गर्दा थपिएका केन्द्रीय सदस्यहरु र माओवादी केन्द्र छाडेर आएका नेताहरुलाई पनि जिम्मेवारी दिइने भएको छ । सबै तहका कमिटी, निकाय र जनसंगठन, नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्था बमोजिम नेकपा गठन हुनुपूर्व २०७६ साल जेठ २ गतेको संगठनात्मक अवस्थाबाट क्रियाशील हुने कार्यदलको सहमति छ ।
साथै ३ जेठ २०७५ मा मनोनित केन्द्रीय सदस्यहरु पनि कार्यदलले स्वीकार गरेको छ । यस्तै २३ फागुनको सर्वोच्च अदालतको फैसलापछि एमालेमा आएका माओवादी नेताहरुलाई स्वागत गर्दै नेकपामा जुन कमिटीमा थियो, त्यही कमिटीको जिम्मेवारी दिने सहमति भएको छ । कार्यदलले केन्द्रीय कमिटीको आकार बढाउने सहमति पनि जुटाएको छ । हाल कायम रहेको केन्द्रीय कमिटीको १० प्रतिशतमा नबढ्ने गरी मनोनित गर्ने सहमति छ ।
दुबै पक्षको निर्णय खारेज
कार्यदलमा २३ फागुन यता दुबै पक्षले गरेका सबै निर्णयहरु खारेज गर्ने सहमति पनि जुटेको छ । सहमतिको तेस्रो बुँदामा भनिएको छ, ‘२०७७ साल फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट नेकपा –एमाले) पुनर्जीवित भएपछिका पार्टीको वैधानिक व्यवस्था तथा एकतासँग मेल नखाने कुनैपनि तर्फका राजनीतिक र संगठनात्मक काम कार्यवाहीहरु स्वतः बदर भएका छन् ।’
विधान महधिवेशन गर्ने सहमति
पार्टी तथा जनसंगठनहरु पूर्ववत अवस्थामा क्रियाशील हुने क्रममा उत्पन्न हुनसक्ने समस्याको निराकरण गर्न र सदस्यता नवीकरण, महाधिवेशन तथा विभिन्न तहका अधिवेशनका सम्बन्धमा सुझाव दिन कार्यदल गठन गर्ने सहमति पनि भएको छ । सहमति अनुमोदन गर्न यथाशीघ्र विधान महधिवेशन आयोजना गर्ने पनि समझदारी छ । कार्यदलले पार्टी, संसदीय दल र जनसंगठनहरुलाई विधि र पद्धतिसम्मत किसिमले उच्च समझदारीका साथ सञ्चालन गर्दै एकता, क्रियाशीलता र मर्यादाको अभिवृद्धि गर्ने बताएको छ ।
माधव नेपाल असन्तुष्ट
यता नेकपा एमालेमा एकता कायम गर्न दुई पक्षको कार्यदलले गरेको सहमतिलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट बनेका छन् । आज आउने सर्वोच्च अदालतको फैसलालाई प्रभावित गर्ने हेतु उक्त सहमति गरिएको नेता नेपालको आरोप छ । कार्यदलले गरेको सहमतिका विषयमा जानकारी गराउन सम्पर्क गरेका नेताहरुसँग नेपालले आफ्नो असन्तुष्टि पोखेका हुन् । आजको सहमतिपछि एमाले एक ठाउँमा उभिएको देखाएर विपक्षी गठवन्धन अल्पमतमा परेको सन्देश अदालतलाई दिन खोजिएको उनले बताएका छन् ।
