काठमाण्डौ । राजनीतिकशास्त्री एवं विश्लेषक डा. सुरेन्द्र केसीले राजनीतिलाई धन्दा बनाइएका कारण अहिलेको जटिल राजनीतिक परिस्थिति सिर्जना भएको बताएका छन् ।
क्यापिटल एफ.एम.को नियमित कार्यक्रम सिधा कुरामा बोल्दै केसीले स्थायी र समृद्धिको निम्ति बहुमत प्राप्त सरकारले पनि मुलुक र जनताको निम्ति कुनै आशालाग्दो काम गर्न नसकेको बताए ।
उनले भने, ‘राजनीतिमा बाँदर प्रबृत्ति स्वयं राजनीतिक दलका व्यक्तिहरुहरुमा नैहाबी भएको छ । जसले मुलुकलाई बनाउने भन्दा पनि बिगार्न पट्टि ध्यान दिएका छन् ।’
मुलुकमा राजसंस्था फलिएपनि त्यसको धङधङीले अझैपनि काम गरिरहेको बताउँदै केसीले नेताको चाकरी बिना कुनैपनि भूमिकामा पुग्न नसकिने तर्क गरे ।
‘नेताको भक्त नभइ कुनैपनि सांसद, राजदूत वा कुनै जिम्मेवारीमा पुग्न सकिँदैन,’ केसीले भने ।
विगतमा राजा महाराजाको पालामा जस्तै अहिलेपनि केपी ओलीका पालामा पाठक, खरेल, संग्रौला, उप्रेती, प्रसाई भन्दा बाहिरका मान्छे महत्वपूर्ण जिम्मेवारीमा पुग्न नसकेको तर्क गर्दै कोइरालाको पालामा पनि त्यस्तै भएको उनले बताए ।
निष्ठाको भन्दा पनि राजनीतिलाई व्यवसाय बनाइएका कारण नै अहिलेको समस्या आएको केसीले बताए । उनले भने, ‘राजनीतिक त व्यवसाय होइन नि, यहाँ त राजनीति कर्पाेरेट हाउस जस्तो भयो । यस्तो अवस्थामा समाजले गतिलो प्रतिफल कसरी पाउन सक्दछ ?’
राजनीतिमा गलत प्रबृत्ति हावी हुनु राष्ट्रिय अपराध भएको तर्क गर्दै केसीले यस्ता बिषयलाई राजनीतिक स्वरुप दिइन्छ भने कहिलेपनि समाजमा परिवर्तन हुन नसक्ने बताए ।
केसीले भने, ‘यदि राजनीतिलाई सेवामुखी बनाउने हो भने अहिलेको नेतृत्व बदल्नुपर्छ र यसमा नयाँ नेतृत्व अगाडि आउनु पर्दछ ।’