काठमाण्डौ । नेकपा मालेका महासचिव सिपी मैनालीले नेकपा एमालेभित्रको छिनाझम्टी सैद्धान्तिक नभएर सत्ता प्राप्त गर्ने अभीष्टले मात्र भइरहेको बताएका छन् ।
शुक्रबार क्यापिटल एफ.एम.को सिधा कुरामा बोल्दै मैनालीले बाहिर सतहमा आएको जस्तो एमालेमा विमति नभएको तर्क गरे । उनले भने, ‘पार्टीको सिद्धान्तमा आएको स्खलन विचलन, विधिमा उत्श्रृंखला, अराजनतिक चरित्र, आदिका कारणले एमाले चरम विवादकाबीच जुँधीरहेको छ ।’
मैनालीले एमालेभित्रको विवाद आन्तरिक मात्र नभएर बाह्य शक्तिको स्वार्थमा समेत केन्द्रित भएको बताउँदै सत्ता र पद जोगाउने नाममा देखिएको अराजनीतिक चरित्र समेत हावी भएको बताए ।
नेकपा एमालेले २०४९ सालदेखि नै जनताको बहुदलीय जनवादलाई अंगीकार गरेर आफ्नो माक्र्सवादी सिद्धान्तमा विचलन ल्याएको बताउँदै मैनालीले भने, ‘जब २०४९ सालमा एमालेभित्र जनताको बहुदलीय जनवाद आयो, सोही बेलादेखि नै पार्टीभित्र सैद्धान्तिक विचलन आएको हो ।’
पछिल्लो समयमा केपी ओली र माधव नेपालबीचको झगडा पनि सैद्धान्तिक भन्दा सत्ता प्राप्तिमा केन्द्रित भएको मैनालीको टिप्पणी छ । उनले माक्र्सवादी सिद्धान्त अनुरुप सामाजिक न्यायका निम्ति परिवर्तन गर्नुपर्नेमा बहुदलीय जनवादको सिद्धान्तलाई आत्मसाथ गर्न थालेपछि एमालेले आफ्नो सैद्धान्तिक बाटो विराएको बताए ।
उनले भने, ‘राष्ट्रिय पूँजी र साना पूँजी जसलाई सामाजिक पुजी भन्छौ, त्यसको सामाजिक वितरण गर्नु जरुरी भएको अवस्थामा अहिले यसलाई कार्यान्वयन गर्न सकेका छैनन । व्यवापारिक र दलाल पुजीलाई प्रश्रय दिने काम गरिरहेको अवस्था छ । उनीहरुबाट म माक्र्सवादी र मूल्य मान्यतालार्य पुनस्र्थापित गर्ने ध्येयमा लागेको देख्दिन । सत्ता र पदको निम्ति मात्र लागिरहेका छन् ।’