काठमाण्डौ । राजनीतिक विश्लेषक दिपक गजुरेल मुलुकको राजनीति आशालाग्दो अवस्थामा नरहेको बताएका छन् ।
क्यापिटल एफ.एम.को कार्यक्रम सिधा कुरासँग कुराकानी गर्दै गजुरेलले दिनप्रतिदिन मुलुकको राजनीतिक विग्रदो अवस्थामा रहेको बताए ।
उनले भने, ‘मुलुकमा बसोबास गर्ने सम्पूर्ण नागरिकको बृहत्तर हितका लागि राज्य र सरकार आवश्यक पर्ने हो, तर नागरिकले अनुभूत गर्ने हेतुले खासै उल्लेखनीय सुधार हुन सकेको छैन, हाम्रो अवस्था दिनप्रतिदिन विग्रदै गएको छ ।’
गजुरेलले राज्यप्रणाली अस्तव्यस्त र भ्रष्ट हुँदै गएको बताए । उनले राज्य प्रणाली झन् झन् बिग्रदै जानुमा यसका सञ्चालकहरु प्रमुख दोषी रहेको बताए ।
राज्य सञ्चालनमा तीनवटा अंगहरु कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका, एकअर्कामा नबाँझिकन स्वतःस्फूर्त रुपमा सञ्चालन हुनुपर्नेमा अहिले यीनिहरुबीचमै पनि विभिन्न बाधाहरु सिर्जना भइरहेको गजुरेलले बताए ।
संसदीय प्रणालीमा कार्यकारी प्रमुख प्रधानमन्त्रीले गरेका हरेक निर्णयहरु सर्वाेच्च अदालतले वदर गरिदिने अवस्था सिर्जना भएको उनले बताए । संविधानमा पनि बाँझिने प्रावधानहरु धेरै रहेको उनको तर्क छ ।
अहिलेको अवस्थामा कार्यपालिका काम नलाग्ने भएको टिप्पणी गर्दै गजुरेलले न्यायपालिकाले पनि बढी भूमिका खोजेको देखिएको बताए ।
पूरा अडियो सुन्न क्लिक गर्नुस् ।