काठमाडौं । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी बहस हेर्दाहेर्दैमा राखिएको छ । आज वरिष्ठ अधिवक्ताहरू रमण श्रेष्ठ, हरिहर दाहाल, प्रेमबहादुर खड्का, बोर्णबहादुर कार्की, मिथिलेससिंह यादव, हरि उप्रेती, गान्धी पण्डित र खगेन्द्र अधिकारीले बहस गरेका छन् ।
आजको बहसमा कानुन व्यवसायीले राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाएका छन् । साथै उनीहरुले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गरी अधिवेशन आह्वान गर्न माग पनि पनि गरेका छन् ।
रिट निवेदक र सरकारी पक्षलाई अदाललते १५÷१५ घण्टाको समय निर्धारण गरेको छ । अब रिट निवेदक तर्फका कानुन व्यवसायीलाई बहसका लागि ४ घण्टा ४५ मिनेट बाँकी छ । रिट निवेदकको बहसपछि सरकारी वकिल र प्रधानमन्त्रीका कानुन व्यवसायीले बहस गर्नेछन् ।
उनीहरूले बहसका लागि १५ घण्टाको समय पाउनेछन् । सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीले २ घण्टा र एमिकस क्युरीले पनि बहसका २ घण्टा समय पाउनेछन् । त्यसपछि रिट निवेदकहरूले इजलासमा उठेका प्रश्नको जवाफ ३ घण्टामा दिनेछन्। यो प्रकिया सकिएपछि सुनुवाइको चरण सकिएर फैसलाको चरणमा प्रवेश हुनेछ ।
अदालतले चाहेमा सोही दिन वा केही समय लिएर फैसला दिनेछ । प्रतिनिधि सभा विघटन मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासमा सुनुवाइ चलिरहेको छ ।
सुनुवाइ भोली पनि जारी रहनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते राति प्रतिनिधि सभा विघटन गर्नुभएको थियो । यसअघि गत पुस ५ गते गरिएको प्रतिनिधि विघटनलाई सर्वाेच्च अदालतले फागुन ११ गते बदर गरिदिएको थियो ।