काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुके जिम्मेवारी हेरफेर गर्नुभएको छ । प्रधानमन्त्री ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफैँसँग राखेर मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले विष्णुप्रसाद पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, जलस्रोत तथा सिंचाई र गृहमन्त्रालयको जिम्मेवारी दिनुभएको नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार कृष्णगोपाल श्रेष्ठले वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
बसन्तकुमार नेम्वाङले कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
यसैगरी, लिलानाथ श्रेष्ठले कानून, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।