काठमडौं । मुलुक संघीय संरचनामा गएको लामै समय वितिसक्दा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई संघीय संरचना अनुसारको विधान कार्यान्वयनमा ल्याउन निकै सकस परेको छ । संघीय संरचनाअनुसारको विधान मस्यौदामा सहमति जुट्न नसकेपछि विधानबारे छलफल र अनुमोदन गर्न बोलाइएको महासमिति बैठक पनि अनिश्चित बनेको छ ।
पार्टीका धेरै जसो नेता र अगुवा कार्यकर्ताहरुले शीर्ष नेताहरुले आफूअनुकुल विधान बनाउन खोज्दा समस्या भएको बताएका छन् । विधानमा शीर्ष नेताले एक किसिमको सहमति गर्ने तर, केन्द्रीय समितिले त्यसमा विमति जनाउने भएपछि महासमितिमा विधान पेश गर्न समस्या भईरहेको कांग्रेस नेताहरुले बताएका छन् ।
समग्र नेता कार्यकर्ता भन्दा पनि केही नेताअनुकुल विधान बनाईएको, संविधानको भावना र मर्मलाई ख्याल नगरेको केन्द्रीय सदस्य वीरबहादुर बलायरको अरोप छ । संघीयताको मर्मअनुसार विधानलाई समावेशी नबनाएसम्म त्यो विधान स्वीकार गर्न नसकिने उहाँको भनाई छ ।
खासगरी काँग्रेस विधानमा केन्द्रीय पदाधिकारी कति राख्ने, उनीहरुको चयन प्रक्रिया के हुने भन्नेमा विषयमा विवाद भएपछि काँग्रेसलाई संघीय संरचना अनुरुपको विधान अनुमोदन गर्न सकस भएको हो । काँग्रेसका शीर्ष नेताबीच मंगलबार राति सभापति १, उपसभापति २, महामन्त्री २ र सहमहामन्त्री २ जना तथा कोषाध्यक्ष र प्रवक्ता १/१ जना गरी ९ जना केन्द्रीय पदाधिकारी राख्ने सहमति भएको थियो ।
कोषाध्यक्ष र प्रवक्ताबाहेक अरु सबै निर्वाचित हुनेगरी शीर्ष नेताहरुबीच सहमति भएको थियो । तर, बुधबार बसेको केन्द्रीय र्काय समिति बैठकमा केन्द्रीय सदस्यहरुले त्यसलाई अस्वीकार गरेपछि थप समस्या सृजना भएको हो ।
विधान अनुमोदनका लागि काँग्रेसले मंसिर २९ गतेदेखि पुस ३ गतेसम्मका लागि काठमाडौंमा महासमिति बैठक बोलाएको थियो । तर, केन्द्रीय समितिमै सहमति नजुट्दा विधानमा महासमितिमा पेश हुन सकेको छैन ।
काठमाडौंको रामशाहपथस्थित यगम्बर पार्टी प्यालेसमा सुरु भएको महासमिति बैठक निर्धारित समयमा नसकिएपछि विहिबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सारिएको छ ।