काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
यसअघि आइतबार आन्तरिक कारण भन्दै तथा सोमबार लुम्बिनी प्रदेशको राष्ट्रिय सभा निर्वाचनका कारण बैठक स्थगित गरिएको थियो । बैठकमा विशेष गरी शनिबार अध्यादेशमार्फत् ल्याइएको बजेटको समीक्षा तथा पार्टीको आन्तरिक वातावरणबारे छलफल हुने छ ।
त्यस्तै बैठकमा यसअघिको बैठकले १२ जना सांसदलाई स्पष्टीकरण सोधेको र उनीहरुलाई के कारबाही गर्ने भन्ने बारेमा पनि निर्णय हुन सक्ने तामाङको भनाई छ ।
स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन् ।
यसअघि एमाले संस्थापन पक्षले वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावललगायत ११ जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।