काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ बाट उत्पन्न असरको सम्बोधन गर्न र नागरिकमाथि दुर्व्यवहार नगर्न सरकारलाई आग्रह गरेको छ ।
आज एक विज्ञप्ति जारी गर्दै आयोगले आफ्नो केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयले गरेको अनुगमनका क्रममा आईसीयू र भेन्टिलेटरमा उपचार नपाएर मानिसको मृत्यु भएको तथा निषेधाज्ञा उल्लंघनका नाममा प्रहरीले निर्घात कुटपिट गरेको पाइएको बताएको छ ।
स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पतालको उपकरण तोडफोड भएको, कास्की, मोरङ, झापालगायतका जिल्लामा अक्सिजन, आईसीयू तथा भेन्टिलेटरको अभावमा मानिसको मृृत्यु भइरहेको पाइएको पनि आयोगले उल्लेख गरेको छ ।
त्यस्तै प्रदेश १ का पहाडी जिल्लामा पीसीआर परीक्षण हुन नसकेको, खाद्यान्न तथा औषधिको आपूर्तिमा कमी हुँदा अभाव देखिन थालेको, केही जिल्लामा निषेधाज्ञाका बेला पसल खोल्दा प्रहरीले निर्घात कुटपिट भएको जनगुनासो आएको अयोगले उल्लेख गरेको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले व्यक्तिको जीवन, स्वास्थ्य र दैनिक जीवनमा अत्यावश्यक पर्ने सेवा, वस्तुको पहुँच अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीको सुरक्षा र श्रमिक वर्गको जीवनयापनको व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ ।