काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक फेरि सरेको छ । आज विहान १० बजे बस्ने गरी बोलाइएको बैठक भोलि विहान ११ सम्मका लागि स्थगित गरिएको एमाले नेता सुवास नेम्बाङले जानकारी दिनु भयो ।
एमालेका १२ नेतालाई सोधिएको स्पष्टीकरणका बारेमा अब के गर्ने भन्ने बारेमा बैठक बोलाइएकोमा अझै एक दिन अध्यक्ष केपी शर्मा ओलीले पर्खिने भएपछि बैठक भोलिका लागि सारिएको जनाइएको छ ।
आज लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको उपनिर्वाचन भएकोले त्यसको नतिजा के हुन्छ र त्यसपछि स्थायी कमिटी बैठक बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जनाकारी दिनु भयो ।
एमालेका नेताहरू सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई २४ घण्टे स्पष्टीकरण सोधिएको थियो ।
नीहरुले अझै स्पष्टीकरण नबुझाएको तामाङले बताउनु भयो । अब पार्टीले के कारबाही गर्छ भन्ने बारेमा स्थायी कमिटी बैठकमा छलफल हुने छ । उनीहरुलाई कारबाही गर्ने वा नगर्ने जिम्मा अध्यक्ष ओलीलाई दिएको छ ।